हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ०२ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा मंगलसेन नगरपालिका प्रथम भएको छ । १० वटा स्थानीय तह रहेको अछाम जिल्लामा मंगलसेन नगरपालिकाले ६६.१ अंक प्राप्त गर्दै जिल्लाकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को कार्यसम्पादन मूल्याङ्कनमा चौरपाटी गाउँपालिका ५९.६ अंकसहित दोस्रो बनेको हो । । यस्तै पञ्चदेवल नगरपालिका ५८.३ अंकसहित तेस्रो, ५३.४ अंक ल्याएर साँफेबगर नगरपालिका चौथो बनेको छ । यस्तै ५२.२ अंक ल्याउँदै मेल्लेख गाउँपालिका पाँचौ, ५०.६ अंकसहित कमलबजार नगरपालिका छैटौँ, ५०.२ अंकसहित तुर्माखाँद गाउँपालिका सातौँ स्थानमा छन् । यसैगरी ५० अंकका साथ बान्नीगढी जयगढ गाउँपालिका आठौँ, ४९.९ अंकसहित रामारोशन गाउँपालिका नौँ र ४७.७ अंक ल्याउँदै ढकारी गाउँपालिका दशौँ स्थानमा रहेका छन् ।
आयोगले गत आर्थिक वर्षमा गाउँपालिकाले गरेका कार्य सम्पादनको नतिजा बुधबार सार्वजनिक गरेको हो । आर्थिक वर्षको राजस्व र आय–व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेको देखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा सङ्घमा पठाउनुपर्ने राजस्व समयमा पठाए नपठाएको, शिक्षा, स्वास्थ्य, राजस्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्याङ्कन हुने गर्दछ ।




