निर्मल राजा
असोज २७,पश्चिम नेपालको सबै भन्दा पुरानो बजार मध्येको एक बजार हो बर्दियाको राजापुर बजार ,राजापुर बजार सुदुरपश्चिम तथा कर्णाली प्रदेशको क्षेत्रको जनताको किनमेल तथा ब्यापारिक केन्द्र थियो
विशेषः तह राजापुर क्षेत्रमा सयौ बिघा सहित तत्कालीन समयमा राजाहरु बस्ने गरेको पाईन्थ्यो ।
बर्दियाको राजापुर क्षेत्र अन्नको भण्डार पनि हो करिब ८५% भन्दा बढी मानिसहरु कृषि पेशामा आवद्व छन् । राजापुरको बिकासको गतिले फट्को मार्न नसके पनि मध्यम गतिको बिकास भने भईरहेको छ ।
राजापुरमा मध्य तथा सुदुरपश्चिमका जनताको ब्यापारिक केन्द्र रहे पनि यो कुरा ईतिहासमा मात्र सिमित हुन पुगेको छ ।
कर्णाली देखि सुदूरपश्चिमकै ठूलो बजार मानिएको राजापुर समय क्रममा ओझेल पर्दै गयो, विकासका धेरैजसो आधारभूत पूर्वाधार पुगे पनि राजापुरले विगतको रौनक फर्काउन भने सकेको छैन
त्यो बेलाको राजापुर बजारको चर्चा गरौ , बर्दियाको राजापुर करिब पाँच दशक अघिको हिउँद राजापुर मण्डी (बजार) मा बिहानी प्रहर सुरु नहुँदै राति २ बजेदेखि चहलपहल सुरु हुन्थ्यो । हल्लाखल्ला र मोलतोलले बजार गुल्जार देखिन्थ्यो । धान बेच्न आएका किसानको लस्कर र खरिद गर्न आएका व्यापारीले ल्याएका सयौं लडिया (बयलगाडा) ले राजापुर बजारमा चहलपहल हुन्थ्यो ।
सुदर तथा मध्यपश्चिमका पहाडि जिल्लामा बसोबास गर्ने मानिसहरुले घिउ, सुन्तला,कोदो, मुन्तोला, चुक ,टिमुर,सिलाजित,स्याउ,गलैचा,हिंग जस्ता जडीबुटी तराईको एक मात्र बजार राजापुरमा ल्याई बिक्री वितरण गर्थे त्यसको साटोमा पहाडमा बसोबास गर्नेहरुले तेल, गहुँको पिठो, नुन, चामल संगै कपडा खरिद गरि पहाड तिर लग्दथे । वरिपरि कर्णालीनदी र यसको भँगालो मानिने गेरुवा नदीले घेरिएको राजापुर एउटा टापुजस्तो जहाँ स्वच्छ हावा पानी संगै रमणिय वातावरण समेत थियो ।

राजापुर क्षेत्रका पुराना स्थानीय बासी १०३ वर्षे जैतुन मनिहार भन्नू हुन्छ राजापुर बजार मेरो श्रीमानले बसालेको बजार हो उनले त्यस समयमा राजापुरमा भारतिय मुलका मानिसहरु आई पसल तथा व्यापार गरेका हुन्थे । तर ती ब्यापारीहरु कतिपय नेपालमै बसे भने कतपय ब्यापारी नेपालगन्ज गए भने कतिपय ब्यापार छोडेर भारतमा नै गए उनी भन्छिन त्यस बेला डर,धम्कि केही नभएको खुला ब्यापार ब्यवसाय गर्न पाईन्थ्यो । तर समय क्रम संगै अब त्यसो नभएको उनी सुनाउछिन ।
राजापुरमा तत्कालीन समयमा पहिले सडक सञ्जालले नजोडिएका कारण विकट मानिए पनि धान र गहुँको उर्वर भूमि भएकाले राजापुरको बेग्लै छुट्टै सान थियो । पश्चिम नेपालका किसानको धान खरिदबिक्री गर्ने बजार भएकाले २०२० सालमै भन्सार खोलिएकाले राजापुर गुल्जार थियो । अहिले राजापुरसँग पुरानो चमकधमक भने छैन हाल त्यो इतिहासमा मात्र सिमित भएको छ ।
राजापुर कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाबाट डोकोभरि सामान ल्याउने व्यापारीका लागि अब राजापुर अन्जान भइसक्यो ।
राजापुरका स्थानिय ब्यक्ति हाल राजापुर नगरपालिका वडा नं ३ नङगापुर बस्ने कन्हैयालाल चौधरी भन्छन सडक सञ्जाल नभएका बेला राजापुर देखि नेपालगंज जान करिब ६ घण्टा लाग्ने गरेको त्यस बखत अहिलेको जस्तो ठाउँ ठाउमा पुल समेत नभएको बताउछन् ।
सडक सञ्जालसँग जोडिएपछि भने हिजोआज राजापुर देखि अन्यत्र जान तथा आउन गाह्रो छैन । एक समय यहाँ गाडी भनेकै एकाध जमिनदारका ट्याक्टर थिए । नत्र भने यातायातको साधनमा लडिया र त्यसको आवाजले राजापुर गुन्जिराख्थ्यो । उनै चौधरी भन्छन राजापुरबाट करिब ५ देखि २० किमि दूरीका गाउँबाट किसान धान बेच्न राति नै राजापुर आइपुग्थे बदालपुर,मनाउ, गोला, नयाँगाउँ, दौतलपुर, पाताभार खैरीचन्दनपुर, दिपनगर,भिम्मापुर, पशुपतिनगर र मानपुरटपरा गाविसबाट आएका लडियाले पुरै राजापुर भरिन्थ्यो ।
बर्दियको राजापुरका स्थानीय बाल कृष्ण सुवेदीका अनुसार २०३० सम्म राजापुर बजार गोलाहाट मण्डीका रूपमा चर्चित भएको इतिहास सुनाउँछन् । पहिले गोलामण्डी हुदै दौलतपुर हुँदै हालको राजापुरमा बजार स्थानान्तरण भएको उनी भन्छन् ।
राजापुरको रौनक एकैचोटि भने घटेको होइन । २०४३ सालमा पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएपछि व्यापारका नयाँ केन्द्र राजमार्ग छेउछाउ खुल्न थाले संगै राजापुरको पुर्व सडक खण्ड हालको हुलाकी सडकखण्डमा स साना बजार बिस्तार हुँदै गए त्यसै गरि मनाउ , शान्तिबजार टपरा बजार थपिदै गए पछि राजापुरको ब्यापारिक महत्व घट्दै गयो । त्यस संगै राजमार्ग र पहाडी सडकमार्ग बनेसँगै चिसापानी, टीकापुर, कटाक्षे, भजनी, चौमाला,लम्की, बासगढी , भुरीगाउ लगायतका ठाउँमा बजार विस्तार भएपछि राजापुरको व्यापारिक कारोबार घटेको बर्दियाका व्यापारी बालकृष्ण सुवेदीले बताए । यसरी देशका विभिन्न ठाउँ हुम्ला, जाजरकोट,जुम्ला,दैलेख,अछाम कालीकोट बाट आउने व्यवसायी पायक पर्ने सहरमा जान थालेपछि राजापुर सुस्ताउन थालेको उनको भनाइ छ ।
राजमार्ग बन्नु अघिसम्म यहाँ उत्पादित धान र गहुँ नेपालकै अन्य ठाउँ पठाउँदा पनि भारतको भर पर्नुपथ्र्यो । यहाँको खाद्यान्न उत्तरप्रदेश राज्यको बहराइच जिल्लास्थित कतरनियाघाटमा कस्टम (भन्सार) कार्यालय भएर पठाउने गरिएको थियो पछि हाल राजापुर देखि नै नेपालको सडक खण्ड हुँदै लग्ने गरिएको थियो बजार विस्तारका क्रममा राजापुरबाहेक मनाउ, खैरीचन्दनपुर, गोला शान्ति बजार लगायतमा धान खरिदबिक्री गर्ने व्यवसायी भरिँदै गएपछि यहाँ किसान आउने क्रम २०६४ पछि भने घट्दै गएको थियो ।
तीन दशकअघि राजापुरले कतरनियाघाट र राजापुर मूल भन्सार भएर भारतदेखि बंगलादेशसम्म धान निर्यात गथ्र्यो । अन्य भूभागसँग सडक सम्पर्कमा नजोडिएका कारण कतरनियाघाट सुक्खा बन्दरगाहजस्तो थियो । कतरनियाघाटबाट करिब ४ किमि दूरीमा रहेको बिछियामा रेल्वे स्टेसनबाट मालवाहक डिब्बामा राखेर धान निर्यात गरिन्थ्यो ।
राजापुर–७ शंकरपुर का ४९ वर्षीय राजु मनिहारका अनुसार राजपुरले निर्यात गर्ने धान र गहुँकै कारण कतरनियाघाट नजिकै रहेको बिछिया बजार समेत फस्टाएको सम्झिन्छन्
अनाजको भण्डार भएकैले २०४५ सालमा जापान सरकारको सहयोगमा र पञ्चायतकालका अर्थ सहायक मन्त्री दमनध्वज चन्दको पहलमा यहाँ आधुनिक धानचामल कारखाना स्थापना भएको थियो । करिब १५ करोड लागतको स्थापना गरिएको उक्त कारखाना माओवादी सशस्त्र द्वन्द्वका बेला ०५९ चैत २९ गते बम विस्फोटपछि बन्द भयो । २०६४ सालमा खाद्य व्यवस्था व्यापार केन्द्र, राजापुरले कारखाना मर्मत गरेर सञ्चालनमा ल्यायो । संस्थाले किसानको धान खरिद बिक्री गर्ने काम थाल्यो । तर यसले राजापुरको गुमेको रौनक साख भने फिर्ता ल्याउन सकेन ।
राजापुर हुँदै गुलरिया, नेपालगन्ज, काठमाडौ लगायत अन्य ठाउँ पुग्न एक मात्र विकल्प भारतको बाटो थियो । कर्णाली नदीमा पुलसमेत नहुँदा भारतीय बाटोको प्रयोग गर्नुपर्ने अवस्था थियो । २०५१ सालमा राजापुर जोड्ने कर्णाली नदीको भँगालो गेरुवा नदीको कोठियाघाटमा स्टिमरसँगै पन्टुन ब्रिज सञ्चालन भयो । २०७३ सालमा यहाँ पुल निर्माण भएपछि नेपाल जान भारतको बाटो भर पर्नुपर्ने बाध्यता राजापुरवासीका लागि सधैका लागि हट्यो ।
एक समय राजापुरमा मूल भन्सार कार्यालय थियो । भन्सार कार्यालय संगै सटहि काउन्टर समेत थियो हाल रहेको स्थान भन्दा पश्चिम पट्टिको सडकमा थियो नेपाल बैंक लिमिटेड देखि धान मिलसम्म सबै यहीँ थिए । निर्यात घट्दै गएपछि मूल भन्सार र भारु सटही काउन्टर बन्द छ । ‘पुल र सडक सञ्जाल बनेपछि मूल भन्सार विस्तारै राजस्व शून्य हुदै गएको छ ।
राजापुरबाट करिब ७ किमि पश्चिम–दक्षिण सीमावर्ती कैलालीको खग्रौला घाटको मूल भन्सारबाट सामान आयात–निर्यात हुन थालेपछि त्यसको सोझो असर राजापुरमा प¥यो । करिब आठ वर्षअघि कर्णालीको सत्तीघाटमा पुल बनेपछि यहाँका व्यवसायी खग्रौला र भारतको तिकोनियाको भन्सार प्रयोग गर्छन् । यहाँबाट हुने काम केही वर्षयता गुलरियास्थित छोटी भन्सार कार्यालयले गर्दै आएको छ । करोडौ राजस्व असुल्ने भन्सारमा अहिले राजस्व संकलन न्यून भएको छ ।

राजापुर–३ टेडियाका किसान गोपाल थारू धान खरिदबिक्रीका लागि किसान र व्यवसायीबीच तँछाडमछाड हुने गरेको सम्झन्छ यहाँ किरानादेखि लत्ताकपडाका कतिपय पसल भारतीय व्यवसायीले चलाएका थिए । ‘त्यसबेला पुरानो कर्णाली बस्त्रालय, सरला राइस मिल, हीरालाल गुप्ताको पसल चर्चित थिए,’ व्यवसायमा मन्दी आएपछि धेरैजसो पुराना व्यवसायी पलायन भए, द्वन्द्व सुरु भएपछि बचेखुचेका पनि हिँडे ।’
राजापुरमा सयौं बिघा हुने जमिनदार धेरै थिए । निम्न आय भएका र थोरै जग्गा भएका किसान महाजनी (व्यापारी) प्रथामा निर्भर थिए । उनीहरू बैकबाट ऋण नपाएपछि गल्ला व्यापारीको भर पर्थे । सामाजिक आर्थिक, राजनीतिक परिवर्तनसँगै अहिले यो व्यवस्था फेरिय संगै राजापुर क्षेत्र हाल बैंक तथा बित्तीय क्षेत्रको उर्वर भुमि जस्तै छ वित्तीय संस्था भने धमाधम खुले र बित्तीय संस्थाको शाखा खुल्ने कार्य जारि नै छ दन्द्व कालमा बैक तथा बित्तीय संस्थालाई असजिलो थियो हाल भने फस्टाएको भए पनि बजार भने दिन प्रती दिन घट्दै गएको पाईन्छ झन पहिलेको जस्तो बजार भए अझै बैक तथा बित्तीय संस्थाको महत्व बढेर जाने र किसानले सहजै ऋण पाउने थिए
राजापुर नगरपालिकाबाट मात्रै स्थानीय प्रशासनसँग द्वन्द्वकालमा खैरीचन्दनपुर १२, नयाँगाउँबाट १२, दौलतपुरबाट १६, बदालपुरबाट २९, भिम्मापुरबाट १४, मानपुर टपराबाट २७, गोलाबाट २४, पाताभारबाट २९, पशुपतिनगरबाट २३ र मनाउबाट ५५ जना जमिनदार विस्थापित भएको तथ्यांक छ ।
सडक सञ्जालसँग जोडिएपछि राजापुरको विकास हुँदै नभएको भने होइन । आठ वर्ष अघि गेरुवा नदीको कोठियाघाटमा १ हजार १५ मिटरको पुल बन्यो । छ वर्षअघि हुलाकी सडक कालोपत्र भयो । राजापुर र कैलाली जोड्ने कर्णालीको सत्तीघाट, कर्णाली नदीमा पुल निर्माण भयो । मालपोत, नापी, इलाका प्रशासन कार्यालसम्म स्थापना भइसकेका छन् । कलकारखाना स्थापना नहुनु, पहाडी जिल्लाबाट व्यवसायी आउन छाड्नुले पुरानो बजार सुनसान भएको हो ।
हाल राजापुर नगरपालिका वडा नं ५ बदालपुरमा चिनि मिल खोलिएको भए पनि अन्य कलकारखाना भने खोलिएको छैन, नत खुल्ने सुरसार समेत छ , व्यापारमा ठूलो लगानी गर्ने आट कसैले गरेको पाईदैन बरु गुलरिया नेपालगन्जमा गई व्यापार ब्यवसाय तथा उतै बसाई सरी गएको पाईन्छ । अधिकाश हुने खाने जमिनदारहरु गुलरिया,काठमाडौ,नेपालगन्ज बसाई सरिले राजापुर न्यास्रो हुँदै आएको छ ।

हो सडक सञ्जालको बिकास तथा बिस्तारले भने राजापुरमा निकै परिवर्तन आएको छ । सडक सञ्जाल जोडिएपछि यहाँबाट गुलरिया, धनगढी, महेन्द्रनगर, काठमाडौं नेपालगंज लगायतका सहरमा सवारी साधन नियमित गुड्ने गरेका छन् ।
राजापुरका मुल बजार हाल पनि ऐलानी प्रती जग्गा रहेको छ लामो समय देखि घर,व्यापार ब्यवसाय तथा बसोबास गर्दै आएका मानिसहरु पनि ऐलानी जग्गामा बसेका छन् भने थुप्रै मानिसहरु सुकुम्बासी, कमलहरी , जातिय विभेद, हिंसा, छाउपढी, महिला हिंसा लगायत अन्य सामाजिक कुरितिले जडो गाडेको पाईन्छ । बाढिले त यहाँका मानिसहरु संग मीत नै लगाए जसरि हरेक बर्ष आउने गर्छ । कर्णाली नदी स्थानान्तरण भईरहने भएका कारण नदी नजिक तथा तटिय क्षेत्रमा बस्ने जनताहरुलाई भने कालको बासो नै भएको छ । नदीले आफनो धार परिवर्तन गरिरहने भएको कारण यहाँको जनताहरु प्राकृतिक बिपती संग डराउनु पर्ने भएको छ ।
यहाँका पुराना जमिनदारमध्येका एक राजाराम कुर्मीबाट यो ठाउँको नाम राजापुर रहन गएको भनाई छ बि.स.२०२१ सालसम्म उनीसँग धेरै जग्गा भएकाले राजारामलाई ‘राजाबाबु’ भनेर बोलाइन्थ्यो । २००२ सालमा अहिलेको राजापुर बजार गोलाहाटमा थियो ।
१०३ वर्षे जैतुन मनिहारका अनुसार कर्णाली नदी कटानपछि दौलतपुरमा गोलाहाट बजार लाग्ने गरेको बताए । ‘बाढी र कटानले २००६ सालमा त्यहाँबाट हाटबजार सरेर अनन्तपुर हुँदै राजापुरमा सरेको हो,’ राजापुर अहिर, कुर्मी,गुप्ता,मुस्लिम समुदायको बस्ती थियो ।’
उनले भने ‘त्यसबेला भारतको बहराइच र लखिमपुरबाट आएका व्यवसायीले बजार सञ्चालन गरेका थिए ।
राजापुरको बिकास र समृद्धी सोचे अनुरुप नहुनु यहाँको कारण जग्गा जमिनको असमान बितरण पनि एक हो । हुने खाने राजा रजौटा संग तत्कालिन समयमा राजा त्रिभुवन त्यसै गरी अन्य राजाहरुको जयजयकार तथा स्वागत गरेकै आधारमा सयौं हजारौ बिघा बक्सिसका रुपमा प्राप्त भए जसले गर्दा उनीहरु धनी हुदै गए । उनीहरु ज्यादै सुबिधा भोगी भएकै कारण अन्यत्र बसाईसरी सहर केन्द्रित भए हाल सम्म पनि नामको मात्र राजा साब भुन्डाई रहेका छन् यसरी सुकुम्बासी मानिसको पनि कमी छैन । जसले गर्दा जग्गाको असमान बितरण भएको पाईन्छ । कसैले मानोस या नमानोस समाजमा असमानता बिभेद ल्याउनमा राजा रजौटाहरुको महत्पुर्ण भुमिका छ । आफना निकटका ब्यक्तिहरु आसेपासेहरुलाई कहांको जग्गा लिने भन्दै हुकुम दिने अनि रोज्ने र त्यो पनि हजारौ बिघा रोज्ने यसरी रोज्ने मानिसको कमी छैन राजापुरमा गांउ पिछ्छ्े राजाहरु छन् तत्कालिन समयमा समाजमा छुट्टै सानमान हुने गर्दथ्यो जुन हाल सम्म पनि कायम छ ।
उसो त राजापुरमा ब्यापारिक केन्द्रका रुपमा गिरावट मात्र भए पनि यहाँका स्थानिय निकाय तथा राष्ट्रिय राजनतिमा प्रतिनिधित्व गर्नेहरुले हामी बनाउ छौ राजापुर भन्ने अभियान मात्र चलाउने हो भने पक्कै पनि राजापुरलाई पहिलेको गतिमा नल्याउन नसकेपनि अथवा समयक्रम आधुनिकिरणले गर्दा थप बिकसित नबनाउन नसकिने भने होईन ।
राजापुर थुप्रै सम्भावना बोकेको ठाँउ पनि हो , हामीले पुरानो राजापुर ब्यापारिक केन्द्र बनाउन आवश्यक नभए पनि त्यसको बिकल्पमा नेताहरुले चुनाव लड्दाका गर्ने बाचाको ४० प्रतिशत मात्र काम भए पनि यस क्षेत्रलाई दिर्घकालिन रुपमा पर्यटकीय,ब्यवसायिक, औधौगिक तथा अन्य दृष्टिकोणले बिकासको सम्भावना भएको छ ।





