अछाम । बिहानको घामसँगै तुर्माखाद गाउपालिका वडा नं १ सालदोबाटो टोल हरियालीले चम्किन थाल्छ । प्लास्टिक टनेलभित्र तरकारीका बोट नियाल्दै ४२ वर्षीय कृषक रमेश शाही आफ्नो दैनिकी सुरु गर्नुहुन्छ । धेरैका लागि यो उमेर विश्रामको समय हो, तर शाही का लागि तरकारीखेती विश्राम होइन, आत्मनिर्भरताको आधार बनेको छ ।
केही वर्षअघिसम्म खानका लागि मात्र परम्परागत खेती गर्दै आउनुभएका शाही पछिल्लो समय अगुवा किसानका रूपमा चिनिन थाल्नु भएको छ । आफ्नै ३ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएका उहाँले एक सिजनमा पचास हजार भन्दा बढी रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ । रासायनिक मल प्रयोग नगरी जैविक विधिबाट खेती गर्ने उहाँको खेत छिमेकी किसानका लागि सिकाइको थलो बनेको छ ।
शाही ले व्यावसायिक तरकारी खेती मार्फत वार्षिक एक लाख भन्दा बढी रकम आम्दानी गर्दै आउनुभएको छ । छोरा–छोरीको लालनपालनका लागि भारतका विभिन्न सहरमा मजदुरी गर्दै आउनुभएका शाहीले आफ्नै गाउँमा बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने कल्पना गर्नुभएको थिएन । “भारतमा पसिना बगाउँदा पनि जीवन सजिलो थिएन,” शाही भन्छन्, “घरमै तरकारी फलाएर आम्दानी हुन थालेपछि विदेश जानु परेन ।” सुरुमा घरायसी प्रयोजनका लागि लगाइएको तरकारी विस्तारै व्यावसायिक बन्दै गयो । अहिले उहाँले अन्य सबै काम छोडेर पूर्ण रूपमा तरकारी खेतीलाई नै पेशा बनाउनुभएको छ ।
शाही मात्र होइन, पछिल्लो समय उमेरका कारण अन्यत्र काम गर्न नसक्ने धेरै किसानहरू तरकारी खेतीमार्फत आत्मनिर्भर बन्दै गएका छन् । उनीहरू ‘MOFA जापान को आर्थिक सहयोग तथा ‘वाक नेपाल’र वल्र्ड भिजन इन्टरनेस्शनल नेपाल द्वारा सञ्चालित सिबिडिआरआर परियोजनासँग जोडिएपछि थप उत्साहित बनेका हुन् ।
परियोजनामार्फत प्राप्त प्लास्टिक टनेल, थोपा सिँचाइ, गुणस्तरीय बीउ, जैविक मल तथा प्राविधिक तालिमले किसानहरूको उत्पादन र आत्मविश्वास दुवै बढाएको स्थानीय तहको भनाइ छ । गाउँमै रोजगारी र आम्दानी सम्भव छ भन्ने सन्देश यी किसानहरूले आफ्नै जीवनमार्फत दिएका छन् । परियोजनाले अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकामा काम गर्दै आइरहेको छ ।




