सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछाम परापुर्व कालमा” नौखुवाको” नाममा एक बलियो प्रशासनिक र सांस्कृतिक केन्द्र थियो। ऐतिहासिक किंवदन्तीहरू, वंशावली र स्थानीय इतिहासकारहरूका अनुसार देवचन्द्र शाह (समाल)र पछि उनका वंशजहरूद्वारा शासित यो राज्य मध्यकालमा निकै समृद्ध मानिन्थ्यो। आधुनिक नेपालमा एकीकरण भएपछि अछामले प्रशासनिक ढाँचामा धेरै परिवर्तनहरू देख्यो। इतिहास बाइसे , चौबिसे राज्यकालदेखि नै निकै गौरवशाली रहिआएको छ। पञ्चायती व्यवस्थाको अन्त्यपछि बहुदलीय प्रजातन्त्रको आगमन र हालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा छ । नेपालको संविधान २०७२ अनुसार नेपालको पुनसंरचना गर्ने क्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयानुसार यस जिल्लालाई ४ नगरपालिका, ६ वटा गाउँपालिका तथा २ संसदीय निर्वाचन क्षेत्रहरूमा विभाजन गरिएको छ। २०४८ सालदेखि २०८२ को हालसम्मको संसदीय यात्रालाई नियाल्दा यहाँको राजनीतिक चित्र एउटा अनौठो चक्रमा घुमेको देखिन्छ। पटक-पटक सरकार फेरिए, दलहरू र नेतृत्व गर्ने पात्रहरू पटक पटक दोहोरिएको देखिन्छन । तर जिल्लाको विकासको ‘गति’ भने धेरै हदसम्म कछुवाको यात्राजस्तो सुस्त नै देखिन्छ।
चुनावी इतिहास: उतारचढावको तीन दशकको यात्रा:
अछाम जिल्लाको संसदीय यात्रालाई फर्केर हेर्दा बहुदलीय व्यवस्थाको पुनरागमनपछि २०४८ मा अछाम मा ३ ओटा निर्वाचन क्षेत्र थिए ,क्षेत्रनं. १ मा नेपाली कांग्रेसका उम्मेदवार बलबहादुर कुँवर ११,८५५ मत प्राप्त गरी विजयी हुनुभएको थियो भने नेकपा एमालेका भीमबहादुर रावल ७,३९२ मतका साथ दोस्रो स्थानमा रहनुभएको थियो। त्यसैगरी, क्षेत्र नं. २ मा नेपाली कांग्रेसकै गोविन्द शाह ११,०२६ मत ल्याएर निर्वाचित हुनुभएको थियो, जहाँ नेकपा एमालेका भीमबहादुर कठायत ९,६५७ मतसहित पराजित हुनुभयो। अन्तमा, क्षेत्र नं. ३ मा पनि नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर विष्ट १३,८५१ मत प्राप्त गर्दै विजयी बन्नुभयो भने राप्रपा बाट रामबहादुर शाही ५,२४६ मतमा पराजित हुनुभएको थियो। समग्रमा, यो तथ्याङ्कले २०४८ सालको निर्वाचनमा अछामका सबै क्षेत्रमा नेपाली कांग्रेसले क्लिन स्वीप गरेको देखाउँछ।
वि.सं. २०५१ सालको आमनिर्वाचनमा अछाम जिल्लाको चुनावी परिणामले नेकपा (एमाले) को बलियो पकड देखाएको थियो। उक्त निर्वाचनमा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरूले विजय हासिल गरेका थिए। निर्वाचन क्षेत्र नं. १ मा भीमबहादुर रावलले १८,०६० मत प्राप्त गर्दै नेपाली कांग्रेसका गोविन्दबहादुर शाह (१३,०५९ मत) लाई पराजित गरेका थिए। त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ मा एमाले बाट भीमबहादुर कडायतले १२,७९७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर विष्टले १०,७३३ मत प्राप्त गरेका थिए। यसरी अछामका दुवै क्षेत्रमा एमालेको वर्चस्व कायम रहनुले त्यस समयको राजनीतिक वातावरणमा उक्त दलको प्रभाव स्पष्ट पारेको थियो।
वि.सं. २०५६ को निर्वाचनमा अछाम जिल्लाको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तन देखियो, जहाँ नेपाली कांग्रेसले आफ्नो प्रभाव विस्तार गर्दै दुवै निर्वाचन क्षेत्रमा विजय हासिल गर्यो। निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका गोविन्दबहादुर शाहले २७,६९० मत प्राप्त गर्दै नेकपा (एमाले) का भीमबहादुर रावल (२३,४५७ मत) लाई पराजित गरे। त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ मा पनि नेपाली कांग्रेसकै रामबहादुर विष्ट १९,५२३ मतका साथ विजयी भए, जबकि उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का भरत साउदले ११,७४० मत प्राप्त गरेका थिए।
वि.सं. २०६४ को निर्वाचनमा राजनीतिक समीकरण फेरियो र विभिन्न दलहरूको उपस्थिति देखियो। यस निर्वाचनमा क्षेत्र नं. १ बाट नेकपा (एमाले) का शेरबहादुर कुँवर २१,६३१ मत प्राप्त गर्दै विजयी भए भने झपड बहादुर साउद माओवादी केन्द्र बाट १६,४६८ मत ल्याएर पराजित भए भने क्षेत्र नं. २ मा माओवादी केन्द्रका शरदसिंह भण्डारी १७,९७६ मत ल्याएर विजयी हुन सफल भए भने शिव प्रसाद उपाध्याय एमाले बाट १४,१७१ पराजित भएका थिए ।
वि.सं. २०७० सालको निर्वाचनमा अछाम जिल्लाका दुई निर्वाचन क्षेत्रमा नेकपा एमालेले आफ्नो वर्चस्व कायम गरेको देखिन्छ।क्षेत्र नम्बर १ मा एमालेका भीमबहादुर रावल १७,७२५ मत ल्याएर विजयी हुनुभएको थियो, भने नेपाली कांग्रेसका मेघराज खड्का १२,९६८ मतसहित दोस्रो स्थानमा रहनुभयो। यहाँ रावलले ४,७३७ को फराकिलो मतान्तरले जित हासिल गर्नुभएको थियो। त्यसैगरी, क्षेत्र नम्बर २ मा एमालेकै भरत साउँद १६,६६४ मत प्राप्त गरी विजयी हुनुभयो। सो क्षेत्रमा नेपाली कांग्रेसका बलबहादुर कुँवर १५,४९० मतसहित निकै कडा प्रतिस्पर्धामा हुनुहुन्थ्यो, जहाँ साउँदले केवल १,१७४ को मतान्तरले जित सुनिश्चित गर्नुभएको थियो। समग्रमा, उक्त निर्वाचनमा अछाम जिल्लामा एमालेको स्थिति कांग्रेसको तुलनामा निकै शक्तिशाली देखिएको थियो।
वि.सं. २०७४ को निर्वाचनमा अछाम जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा एमालेका भीमबहादुर रावल २४,८९३ मत प्राप्त गरी विजयी हुनुभएको थियो, भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतकुमार स्वाँरले १७,६८९ मत प्राप्त गर्नुभएको थियो। त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ मा एमालेका यज्ञबहादुर बोगटीले २१,९६२ मतसहित जित हासिल गर्नुभयो, जबकि नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले १९,१०६ मत प्राप्त गर्नुभएको थियो। समग्रमा, दुवै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरूले आफ्ना कांग्रेसका प्रतिस्पर्धीहरूलाई फराकिलो मतान्तरले पराजित गर्दै आफ्नो वर्चस्व कायम राखेका थिए।
वि.सं. २०७९ को निर्वाचनमा अछाम जिल्लाको नतिजालाई हेर्दा निर्वाचन क्षेत्र नं. १ मा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर १९,५३४ मत प्राप्त गरी विजयी हुनुभयो, जबकि एमालेका झपटबहादुर बोहराले १५,०४५ मत प्राप्त गर्नुभयो। त्यस्तै, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह २२,९५४ मतका साथ विजयी हुनुभयो भने एमालेका यज्ञबहादुर बोगटी १६,११४ मतमा सीमित हुनुभयो। समग्रमा, यस निर्वाचनमा अछामका दुवै क्षेत्रमा नेकपा एमालेले पराजय बेहोरेको छ थियो।
वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचनमा अछाम जिल्लाका दुवै निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ। निर्वाचन क्षेत्र नं. १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट भीम रावल, नेकपा (एमाले) बाट दीपक साउद र नेपाली कांग्रेसबाट भरतकुमार स्वाँर लगायत अन्य मुख्य उम्मेदवारहरुका रूपमा चुनावी मैदानमा हुनुहुन्छ, जसका साथै अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन्। त्यसैगरी, निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले) का यज्ञबहादुर बोगटी, नेपाली कांग्रेसका पुष्पबहादुर शाह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का शरदसिंह भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भूपदेव शाह आदि प्रतिस्पर्धीका रूपमा रहनुभएको छ। यी मुख्य उम्मेदवारहरूका अलवा साना दल र अन्य स्वतन्त्र उम्मेदवारहरूको सहभागिताले गर्दा अछामको चुनावी वातावरण थप रोचक र प्रतिस्पर्धात्मक बनेको छ।
अछामि जनताका अपेक्षा, अहिलेको आवश्यकता:
अछामका जनताका अपेक्षा र जिल्लाको अहिलेको आवश्यकता निकै व्यावहारिक छन्। दशकौंदेखि अधुरा रहेका सेती लोकमार्ग, बुढीगंगा जलविद्युत आयोजना र विभिन्न सडक सञ्जालको द्रुत निर्माण नै जिल्लाको जीवनरेखा हो। भौगोलिक विकटताका कारण छरिएका बस्तीहरूलाई ‘बस्ती एकीकरण’ (Integrated Settlement Development) को अवधारणा मार्फत व्यवस्थित गर्दै तिनमा आधुनिक सेवा पुर्याउनु अहिलेको ठूलो चुनौती र आवश्यकता हो। यस्तो एकीकरणबाट मात्र स्वास्थ्य, गुणस्तरीय शिक्षा, चौबिसै घण्टा विद्युत आपूर्ति, र टेलिफोन तथा इन्टरनेट जस्ता आधारभूत सञ्चार पूर्वाधारहरू सबैको पहुँचमा पुर्याउन सकिन्छ।
त्यस्तै, अछामको आर्थिक कायापलट गर्न स्थानीय बजारहरू (साँफेबगर, जयगढ , मंगलसेन, कमलबजार,गैरीटाड,विनायक, ठाँटीखाद, ढकारी ,पुनेपाट,बाँसकाडा, तुर्माखाद) लाई बजारीकरणको केन्द्र (Hub) को रूपमा विकास गर्नु आवश्यक छ। अछाममा प्रचुर मात्रामा पाइने जडिबुटी र स्थानीय स्रोत साधनलाई कच्चा पदार्थका रूपमा मात्र नबेची स्थानीय स्तरमै प्रशोधन गरी ‘भ्यालु एडिसन’ (Value Addition) गर्नुपर्छ। अछामको भौगोलिक सुहाउँदो प्रविधि प्रयोग गरी कृषि र पशुपालनलाई आधुनिकीकरण गर्ने, र स्थानीय सीप (राडीपाखी, अल्लोको कपडा, काष्ठकला) लाई आधुनिक ब्रान्डिङ र डिजाइनसँग जोड्ने योजना कार्यान्वयन गर्नुपर्छ।
युवाहरूको विदेश पलायन रोक्न यिनै स्थानीय स्रोत, सीप र प्रविधिको त्रिकोणात्मक सम्बन्ध स्थापित गर्दै रोजगारी सिर्जना गर्नु अबको मुख्य प्राथमिकता हुनुपर्छ। जनताले घोषणापत्रका ठूला वाचाभन्दा पनि यिनै व्यावहारिक र आधारभूत आवश्यकताहरूको इमानदार कार्यान्वयन खोजेका छन्।अछामको विकासका लागि अब राजनीतिक दलहरूबीचको स्वस्थ प्रतिस्पर्धासँगै जिल्लाको हितका लागि साझा सहकार्य र उत्तरदायी नेतृत्वको अपेक्षा गरिएको छ।
निष्कर्ष:
अछामका मतदाताले अब घोषणापत्रका ठूला वाचा मात्र होइन, तिनको इमानदार कार्यान्वयन खोजिरहेका छन्। राजनीतिक दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा सँगै जिल्लाको बृहत्तर हितका लागि साझा सहकार्य गर्न सक्ने नेतृत्व नै आजको आवश्यकता हो। अबको निर्वाचनमा अछामका नागरिकले राजनीतिक दलका उम्मेदवार र कार्यकर्ताहरूबीच एक-अर्काको सह-अस्तित्व र सत्कारको अपेक्षा गरेका छन्। दलीय दम्भ र निषेधको राजनीतिभन्दा माथि उठेर जिल्लाको समग्र हितका लागि साझा एजेण्डामा सहकार्य गर्नुपर्ने आजको आवश्यकता हो । मतदाताहरूले अब त्यस्तो नेतृत्व खोजिरहेका छन् जसले प्रतिस्पर्धीलाई शत्रु होइन, विकासको सहयात्रीका रूपमा स्वीकार गर्न सकोस् र जिल्लाको समृद्धिका लागि साझा मार्गचित्र कोर्न सकोस्।अछामको संसदीय इतिहासले एउटा तीतो सत्य उजागर गरेको छ कि दलीय फेरबदल र पात्रहरूको अदली-बदलीले मात्र जिल्लाको कायापलट गर्न सक्दैन। समृद्धिको ढोका अब घोषणापत्रका पानामा होइन, फिल्डमा देखिने इमानदार विकास र दलीय सहकार्यमा मात्र खुल्नेछ। आगामी दिनमा मतदाताहरूले परम्परागत नारा भन्दा ‘नतिजामुखी’ नेतृत्वलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। यति भन्न बिर्सनु भएन जनताले भाषण मात्रै हैन नतिजा प्रखिएका छन् ।
सन्दर्भ सामग्री (References)
१. निर्वाचन आयोग नेपाल: प्रतिनिधि सभा सदस्य निर्वाचनका २०४८ देखि २०७९ सम्मका आधिकारिक चुनावी नतिजा र तथ्याङ्क प्रतिवेदन।
२. संसदीय अभिलेख: नेपालको संसदीय निर्वाचन प्रणाली र अछामको निर्वाचन क्षेत्र पुनरावलोकन सम्बन्धी ऐतिहासिक दस्ताबेज।
३. जिल्ला विकास प्रतिवेदन: अछाम जिल्लाको भौतिक पूर्वाधार, राष्ट्रिय गौरवका आयोजना (सेती लोकमार्ग, बुढीगंगा) को वर्तमान स्थिति र चुनौतीहरू।
४. समसामयिक राजनीतिक विश्लेषण: अछामको सामाजिक-आर्थिक अवस्था, राजनीतिक सहकार्य र निर्वाचन माहोल सम्बन्धी विभिन्न अध्ययन प्रतिवेदनहरू।
५. बाह्रखरी मिडिया (https://www.google.com/search?q=Bahrakhari.com): अछाम जिल्लाको संसदीय चुनावी इतिहास, उम्मेदवारहरूको विवरण, निर्वाचन क्षेत्रगत मतपरिणामको विश्लेषण तथा पछिल्लो राजनीतिक घटनाक्रमसम्बन्धी समाचार सामग्रीहरू।
जीवन कुमार जोशी
MA Economics मा स्नातकोत्तर, केन्द्रीय अर्थशास्त्र विभाग,त्रिभुवन विश्वविद्यालय, किर्तिपुर ।अहिले खोज तथा अनुसन्धान कार्यमा सक्रिय।




