हिक्मत बहादुर नेपाली
अछाम चैत ४ ।
कमलबजार नगरपालिका वडा नं ३ बयालामा दुना टपरी बनाउने तालिम सञ्चालन भएपछी स्थानीय युवायुवतीहरु उद्यमशीलता तर्फ अग्रसर भएका छन । गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत दुना टपरी बनाउने सम्बन्धि ७ दिने सीप विकास तालिम सञ्चालन भएपछी उद्यमशीलता तर्फ अग्रसर भएका हुन । कमलबजार नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा भएको तालिममा पालिकाको वडा नं ३ बयालाका ९ जना युवायुवती सहभागी भएका थिए । फाल्गुन २८ गते देखि सञ्चालन भएको तालिममा प्रशिक्षक भावना मगरले पात संकलन पश्चात् दुना टपरी कसरी निर्माण गर्ने र उत्पादन पश्चात् बजारीकरण कसरी गर्ने भन्ने बिषयमा प्रशिक्षण गराउनु भएको थियोे ।
तालिममा सहभागी भावना बोगटीले ७ दिनको तालिम निकै उपलब्धी मुलक भएको र सिकेको सिप लाई प्रयोग गरेर जिविकोपार्जन गर्ने आत्मविश्वास बढेको बताउनु भयो ।
तालिममा सहाभागी अर्की प्रशिक्षार्थी नमिता रावल ढकालले तालिम अवधीभर ८, १०, १२ र १४ पातेको दुनाटपरी बनाउन सिकेकोले अव दिनहु पात संकलन गरी दुना टपरी बनाउदै डाईसमा फिनिसिङ दिने काम गर्ने र त्यहाँ बाट भएको आम्दानीले घर चलाउन सजिलो हुने विश्वास व्यक्त गर्दे आयोजक लाई धन्यवाद व्यक्त गर्नुभयो ।
तालिममा सहभागी मध्ये बखत ढकालले स्थानीय स्तरमा खेर गईरहेका सालका पात र बासको सदुपयोग गरेर दुना टपरी बनाउने तालिम पाउदा उद्यमशिलता तर्फ अग्रसर हुन उत्साह जागेको बताउनु भयो । दुना टपरी बनाउन सहजताका लागी कमलबजार नगरपालिका लघु उद्यम विकास शाखाले ३ लाख बराबरको दुनाटपरी बनाउने मेसिन डाई लगायतका उपकरण सामाग्री समेत हस्तान्तरण गरेको छ ।
वडा अध्यक्ष नन्दसिह कुँवरले मेसिर उपकरण राख्नका लागी वडा कार्यालयमै छुट्टै व्यवस्थापन गर्ने र विजुलीको विल समेत वडा कार्यालयले भुक्तानी गर्ने भएकाले आम वडा वासीले दुनाटपरी बनाउजे कार्यमा संलग्न हुदै स्वरोजगार बन्न आग्रह गर्नुभयो । कमलबजार नगरपालिका वडा नं ३ का वडा अध्यक्ष नन्द सिंह कुँवरको अध्यक्षता भएको समापन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले युवा लाई दुना टपरी उत्पादनमा जोड दिन आग्रह गर्नुभयो । बजारीकरणको जिम्मा पालिकाले लिने बताउनुभयो । यस्तै कार्यक्रममा बिशिस्ट अतिथि नगर उपप्रमुख शारदा कुमारी बिष्टले स्वरोजगारका लागि उद्यमशिलतामा जोड दिन आग्रह गर्नुभयो । तालिम अवधिभर उद्यम विकास सहजकर्ता अम्बीका विक र पुष्पा सापकोटाले दुना टपरी बनाउने तालिमको सहजिकरण गर्नु भएको थियो । तालिमको समापन कार्यक्रमको सचालन वडा सचिव विरेन्द्र भण्डारीले गर्नु भएको थियो ।




