विश्व जगतमा क्रिकेटले लिएको उचाइलाई मध्यनजर गर्दै जैसरादेबी स्मृति युवा क्लबले २०७७सालदेखि पहाडी जिल्ला अछामको दुर्गम क्षेत्र, तुर्माखाँद गाउँपालिका वडा नं. ०६ रानीवनमा लगातार ५ वर्षसम्म क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। यस अवधिमा खेतीयोग्य जमिनलाई स्थानीय जनताको सहमतिमा खेल मैदानको रूपमा प्रयोग गर्दै खेलकुद गतिविधि सञ्चालन गरिँदै आएको थियो। २०८२ सालको खुल्ला प्रतियोगिताको अवसरमा जनतामाझ लोकप्रिय, खेलकुद तथा शिक्षाप्रेमी तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बी.सी. ले आगामी दिनमा हुने प्रतियोगिताहरू नव-निर्मित खेलमैदानमा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको थियो।
उहाँकै प्रतिबद्धतालाई मूर्त रूप दिने उद्देश्यले आज उक्त क्रिकेट मैदानको नयाँ कटिङ (निर्माण कार्य) को शुभारम्भ गरिएको छ।
यो केवल एउटा खेलमैदान निर्माण मात्र होइन, यो गाउँ, यो क्षेत्र र समग्र समुदायको लागि नमूना कार्य हो। यसले यहाँको खेलकुद विकाससँगै पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ। यस ऐतिहासिक कदमले यहाँका युवाहरूमा नयाँ जोश, जाँगर र उत्साह थपेको छ।
यस महत्वपूर्ण कार्यका लागि तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिसी , वडा नं. ०६ का वडा अध्यक्ष टिकाराम जैसी तथा सम्पूर्ण गाउँपालिका परिवारप्रति क्लबले धन्यवा तथा आभार व्यक्त गरेको छ। साथै जैसरादेबी स्मृति युवा क्लबले सधैं समाज परिवर्तन, क्षेत्रीय पहिचान, विकास र समृद्धिका लागि अग्रसर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।





