रमिता बि. क
- चैत्र १९: जब देशका अधिकांश युवाहरू भविष्यको खोजीमा विदेशतर्फ लागिरहेका छन्, त्यही समयमा अछामको पञ्चदेवल विनायक नगरपालिका–१ का धर्मराज तिमिल्सैना भने स्वदेशमै सम्भावना देख्दै सफल उद्यमीको रूपमा स्थापित भएका छन्। उनले सञ्चालन गरेको युनिशा चाउमिन उद्योग अहिले जिल्लाभर चर्चित बन्दै गएको छ।
सामान्य परिवारबाट आएका तिमिल्सैनाले जीवनमा केही फरक गर्ने अठोट लिए। वैदेशिक रोजगारीका लागि ऋण लिएर विदेश जाने सोच त्याग्दै उनले आफ्नै गाउँमा लगानी गर्ने निर्णय गरे। “विदेशमा दुःख गरेर अरूको देश बनाउनु भन्दा आफ्नै ठाउँमा केही गरेर देखाउनुपर्छ भन्ने लाग्यो,” उनी भन्छन्, “सानो काम भनेर कहिल्यै हेला गर्नु हुँदैन, यही सानो कामले नै ठूलो बाटो देखाउँछ।”
पञ्चदेवल विनायकको मुख्य बजार क्षेत्रमा स्थापना गरिएको उनको उद्योग सुरुका दिनमा निकै चुनौतीपूर्ण थियो। स्रोत–साधनको अभाव, बजार व्यवस्थापन र उत्पादन विस्तारका समस्याहरू सामना गर्दै उनले निरन्तर संघर्ष गरे। तर, मेहनत, लगनशीलता र आत्मविश्वासका कारण आज उनको व्यवसायले राम्रो गति लिएको छ।
हाल उनको युनिशा चाउमिन उद्योगबाट उत्पादित सामग्री गाउँका साना पसलदेखि जिल्लाका प्रमुख बजारसम्म सहज रूपमा पुगिरहेको छ। गुणस्तर र निरन्तर आपूर्तिका कारण बजारमा माग बढ्दो छ, जसले उनलाई अझ उत्साहित बनाएको छ।
व्यवसायसँगै तिमिल्सैना सामाजिक रूपमा पनि उत्तिकै सक्रिय छन्। गाउँमा हुने साना–ठूला काममा अग्रसर भएर सहयोग गर्ने, समस्यामा परेका स्थानीयलाई साथ दिने र विकासका गतिविधिमा सहभागिता जनाउने उनको दैनिकी जस्तै बनेको छ। उनी स्थानीय राजनीतिमा पनि सक्रिय छन् र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट दुई पटक वडा अध्यक्ष पदमा उम्मेदवार बनेका थिए। झिनो मतान्तरले पराजित भए पनि उनले समाजसेवा र उद्यमलाई निरन्तरता दिएका छन्।
उनको भनाइमा, “हामी युवाहरूले अवसर बाहिर मात्र खोज्नु हुँदैन। आफ्नै गाउँ–ठाउँमा पनि धेरै सम्भावना छन्। मेहनत गर्ने हो भने यहीँ पनि सफल हुन सकिन्छ।” उनी थप्छन्, “ठूलो सपना देख्नुपर्छ तर त्यसलाई पूरा गर्न सानोबाट सुरु गर्न डराउनु हुँदैन।”
धर्मराज तिमिल्सैनाको कथा केवल व्यक्तिगत सफलताको कथा मात्र होइन, यो स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश हो। वैदेशिक मोहले देशका युवाशक्ति बाहिरिँदै गएको समयमा उनले देखाएको बाटो धेरैका लागि प्रेरणादायी बनेको छ।
आज उनी केवल एक सफल उद्यमी मात्र होइनन्, गाउँ समाजका भरोसायोग्य सहयोगी, सक्रिय सामाजिक अभियन्ता र युवाहरूका मार्गदर्शकको रूपमा स्थापित भएका छन्। मेहनत, धैर्यता र आत्मविश्वास भए सफलता टाढा छैन भन्ने उदाहरणका रूपमा धर्मराज तिमिल्सैना चम्किरहेका छन्।





