हिक्मत बहादुर नेपाली
अछाम बैशाख ०२ ।
आन्तरिक पर्यटन प्रबर्द्धनका लागि नेपाल जेसीजको आगामी बैशाख ५ गते अछामको पर्यटकीय क्षेत्र रामारोशनमा हुने क्षेत्र (घ) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । क्षेत्र (घ) अन्र्तगतका ५७ शाखाका अध्यक्ष सहित एकसय पचास जना भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष ई. झनक अधिकारीले बताउनुभयो । नेपाल जेसीजको आयोजना र अछाम जेसीजको आतिथ्यतामा हुनगईरहेको अध्यक्ष सम्मेलनको तयारी स्वरुप गठित विभिन्न उप समितिका संयोजकहरुले आआफ्नो जिम्मेवारी अनुसार काम धमाधम सम्पादन गरिरहेका क्षेत्र घ सम्मेलन समितिका संयोजक तुलाराम बिसीले बताउनु भयो । उहाँका अनुसार अधिकांश समितिले मुल समितिले दिएको जिम्मेवारी कुशलता पुर्व सम्पन्न गरेको तर केही रामारोशनमै गएर गर्नुपर्ने काम का लागि आज रामारोशन मै टिम पुगेर काम थालनी गरिरहेएको बताउनु भयो । हामी निकै महत्वपूर्ण कार्यक्रम अछाम जिल्लामा गर्दै छौ, यो हामी सबैका लागि गौरवको कुरा हो, यो कार्यक्रममा क्षेत्र (घ) अन्र्तगतका ५७ शाखाका अध्यक्ष सहित एकसय पचास भन्दा बढी जना भन्दा बढी जेसीज युवाहरुको सहभागिता रहने भएकोले देश भर रामारोशनको प्रचारप्रसारमा सहयोग पुग्ने उहाँले बताउनुभयो । यस कार्यक्रमले यो क्षेत्रको पहिचान संगै पर्यटकीय क्षेत्र रामारोशनको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वाश व्यक्त गर्नु भयो । अछाम जेसीजका अध्यक्ष झनक अधिकारीले अछाम जिल्लाका सरोकारवालाको सहयोगमा यो निकै महत्वपूर्ण कार्यक्रम अछाम जिल्लामा हुन गईरहेकाले यसलाई सफल पार्न सहयोग गरिदिन सबै जिल्लाबासीलाई आग्रह गर्नुभएको छ । यो हाम्रा लागि ऐतिहासिक कार्यक्रम हो, देशभरका जेसीज युवाहरु बैशाख ५ गते रामारोशनमा पुग्दै हुनुहुन्छ यसले जिल्लालाई कुनै न कुनै हिसाबले पर्यटन प्रबर्द्धन संगै स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न फाईदा पुग्ने बताउनुभयो । अछाम जेसीजको सिंगो टिम अहिले यसैमा केन्द्रित रहेको भन्दै अध्यक्ष अधिकारीले हाल सम्म सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । २०८३ सालको बैशाख ५ गते हुने कार्यक्रमको तयारी स्वरुप अछाम जेसीजको टिम बैशाख २ गते नै रामारोशनमा पुगेको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ । जेसिजले युवाहरुको व्यक्तित्व नेतृत्व विकास संगै उद्यमशिलता सिर्जना गर्न विभिन्न कार्यक्रम गर्दछ ।




