अछाम, जेठ ३० ।
पञ्चदेवल विनायक नगरपालिकाको समन्वय तथा साझेदारीमा नगर बाल सञ्जालको आयोजनामा, आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा सहजीकरणमा दुईदिने नगरस्तरीय बाल भेला आजबाट सुरु भएको छ।
नगर बाल सञ्जालकी अध्यक्ष शिर्जना अधिकारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख अम्बिका चलाउने प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेल, सामाजिक विकास संयोजक तथा वडा नं. १ का अध्यक्ष दुर्गा तिमिल्सेना, आस्था नेपाल तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका प्रतिनिधिहरू, नगर बाल सञ्जालका पदाधिकारी तथा विभिन्न विद्यालयका बालबालिकाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सामाजिक विकास संयोजकले बालबालिकाको संरक्षण, अधिकार सुनिश्चितता तथा क्षमता विकासका लागि यस्ता कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत खरेलले बालबालिकाको नेतृत्व तथा क्षमता विकासका लागि बाल भेला प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्थानीय सरकारले गर्नुपर्ने काममा सहयोग पुर्‍याएकोमा आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालप्रति धन्यवाद व्यक्त गर्नुभयो।
प्रमुख अतिथि नगर प्रमुख चलाउनेले बालबालिका भविष्यका मात्र होइनन्, वर्तमानका पनि महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै अवसरको सदुपयोग गरी अनुशासित, मेहनती र जिम्मेवार नागरिक बन्न आग्रह गर्नुभयो। उहाँले शिक्षा, लगनशीलता र सकारात्मक सोचले मात्र उज्ज्वल भविष्य निर्माण गर्न सकिने बताउँदै बालबालिकाको समग्र विकास र संरक्षणमा नगरपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, बाल भेलाबाट पहिचान गरिएका बालबालिकाका प्रमुख सवालहरूलाई आगामी वर्षको नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
बाल भेलाको मुख्य उद्देश्य विभिन्न सहभागितामूलक विधिहरू प्रयोग गरी पालिकास्तरमा बालबालिकाका प्रमुख सवालहरू पहिचान गर्ने, तिनको प्राथमिकीकरण गरी समाधानका लागि योजना निर्माण गर्ने तथा आगामी स्थानीय नीति, योजना र बजेटमा समावेश गर्न स्थानीय सरकारसमक्ष माग प्रस्तुत गर्नु रहेको छ।
दुई दिनसम्म सञ्चालन हुने भेलामा बाल भेलाको महत्व, बजेट निर्माणका सात चरण, सुरक्षित तथा असुरक्षित स्थानको पहिचान, शरीर नक्साङ्कन, मन पर्ने र मन नपर्ने विषयहरूको विश्लेषण, आगामी परिकल्पना, बालबालिकाका प्रमुख सवालहरूको पहिचान तथा प्राथमिकीकरण, योजना निर्माण र स्थानीय सरकारलाई हस्तान्तरण लगायतका गतिविधिहरू सञ्चालन गरिनेछन्। साथै, नगर बाल सञ्जालको पुनर्गठन गरी कार्यक्रम सम्पन्न गरिनेछ।
कार्यक्रमको सञ्चालन नगर बाल सञ्जालका सचिव संगीत तिमिल्सेनाले गर्नुभएको थियो भने सहजीकरण आस्था नेपालका दिलबहादुर शाही , सुशील बटाला र सागर देबकोटाले गर्नुभएको थियो। बालबालिकाको आवाजलाई स्थानीय योजना तथा निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यले आयोजना गरिएको यो भेला बाल अधिकार प्रवर्द्धन र बालमैत्री स्थानीय शासनको दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय