एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिने घोषणा गरेकी रुसी टेलिभिजन पत्रकार येकातेरिना डन्टोभाले आगामी निर्वाचनमा भाग लिन नपाउने भएकी छन् । उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।
येकातेरिनाले मार्चमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भाग लिन तीन दिनअघि नै दर्ताका लागि निवेदन दिएकी थिइन् । रुसी निर्वाचन आयोगले आवेदनमा ‘त्रुटि’ भएको भन्दै उनको उम्मेदवारी अस्वीकार गरेको छ ।

यसको मतलब अब उनले रुसी राष्ट्रपति चुनावमा भाग लिन पाउने छैनन् । येकातेरिना पुटिनको आलोचक हुन् । समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै उनले भनेकी थिइन्, ‘धेरै रुसीहरू चुनावमा भ्लादिमिर पुटिनलाई कसैले चुनौती दिएको चाहन्थे।‘
युक्रेनसँग युद्ध सुरु भएपछि रुसमा पहिलो पटक आम निर्वाचन हुन लागेको हो । पुटिनको वर्तमान चौथो कार्यकाल सन् २०२४ मा समाप्त हुँदैछ।




