प्रिय कमरेड प्रचण्ड,

हुनत प्रधानमन्त्री भएका बेला ‘सम्माननीय’को सम्बोधन गर्नुपर्थ्यो होला । तर वर्ग अन्त्यको लागि १० वर्ष सशस्त्र संघर्ष गरेको व्यक्तिलाई मानमनितोमा खासै आसक्ति नहोला भनेर कमरेड नै भन्न रुचाएँ । फेरि सम्माननीयसँग त्यति खुलेर कुरा राख्नै पनि त सकिन्न !

कमरेडको हाल सालैको एक विचार कमरेडकै सरकारले बन्द गराएको टिकटकमा हेर्न पुगेको थिएँ । देशबाट युवा शक्ति बाहिरिने क्रमले कमरेड चिन्तित भएको पाएँ । कमरेडलाई जागिरदार हुँदाहुँदै पनि बाहिर जाने युवाशक्ति प्रति आश्चर्य लागेको रहेछ । अब कमरेडसम्म अरूले कुरा पुर्‍याउलान् नपुर्‍याउलान् मलाई भने भन्न मन लाग्यो ।

कमरेड जागिर थियो । २०६२ सालमा कमरेडहरू बाहिर आउँदै गर्दा म शिक्षणमा पसेको थिएँ । तलब थियो २ हजार नेपाली रुपैयाँ । त्यो पनि म कमरेडहरूले विरोध गर्ने गरेको अंग्रेजी बुर्जुवा शिक्षा पढेर आएकोले त्यति पाएको थिएँ । नत्र स्नातक पढ्दै गरेकाहरू पनि म प्रवेशिकालगत्तै आएको १७ वर्षे ठिटोभन्दा ५०० कम तलब खान्थे ।

अर्का एक स्नातक गर्दै गरेका त विद्यालयमा पत्रिका पुर्‍याउन आउँथे । यो सब कमरेडहरूको जानकारीमा नभएको कुरा भने होइन ! कारण सशस्त्र संघर्षमा लागेकाहरूको उठ्ती–बैठ्ती विद्यालय सञ्चालकसँग राम्रै थियो ।

‘आधा जनसंख्या जाँड बनाउने आधा जाँड धोक्ने भएको देशमा तपाईं शिक्षकहरूले चाहिं कमसेकम परिवर्तनलाई साथ दिनुपर्छ । हाम्रा सुप्रिमो पनि शिक्षक नै हुनुहुन्थ्यो’, एक जना कमरेडले प्रधानाध्यापकको कोठामा भनेको अझै याद छ ।

कमरेड १ त्यस्तोमा सञ्चालकले के कसरी तलबमान तोकेका छन्, कमरेडहरूलाई थाहा नहुने कुरै भएन । कमरेडहरूको सशस्त्र संघर्षका लागि यी पसिना व्यापारीहरूले बेला मौकामा आर्थिक सहयोग पनि गर्ने गर्थे । त्यति भएपछि तिनका सात खुन माफ हुने नै भए । भनौं भने कमरेड तपाईंका केही गोली गट्ठा म र म जस्तैको तलब काटेर जुगाड गरिएको थियो ।

यी त कमरेडहरू आफैं जंगल बसेका बेलाको कुरा भयो । हामीले केही गर्न सक्थेनौं भन्न पनि पाइयो । जंगलबाट बाहिरिए पछि लगत लिइएको हो कमरेड । प्रअहरू पनि डराएका थिए । निजी विद्यालयका शिक्षकहरू पनि आन्दोलित थिए । मैले पनि विद्यालय फेरिसकेको थिएँ ।

सदरमुकाम बस्ने मान्छेलाई कमरेडहरूको पनि उठ्ती–बैठ्ती हुने ठाउँमा काम गर्न डरै थियो ।

कहीं कतै गल्ती भइगयो भने त समस्या होला भनेर प्रअले नै हकारे । लगत्तै दशैं विदाको तलब माग्दा नदिएको निहुँमा विद्यालय छोडेको थिएँ ।

नयाँ विद्यालयमा पनि मासिक तलबमान त उही हो कमरेड, नगद रु।२ हजार । प्रअले सालभर पछि आन्दोलन अनि अनेक कुराको प्रभावले होला २५ प्रतिशत बढाएर तलब २ हजार ५०० दिन्छु भन्थे ।

विद्यालय फेरियो । प्रवीणता प्रमाणपत्र तहमा गणित लिएर क्याम्पसमा सर्वोत्कृष्ट नतिजा ल्याएको थिएँ । जाबो २ हजार ५०० मा किन रुमलिन्थें १ ३ हजार ५०० खान थालें ।

त्यसपछि ७ हजार अनि ८ हजार गर्दै सात वर्षपछि राजधानीमा अध्यापन गर्दा १४ हजार कमाउने भएको थिएँ । मीत अनि प्रितका एकै कुरा थिए, ‘केही त गर !!’ मलाई म रोजगार छु जस्तो लाग्थ्यो । गरिरहेकै छु जस्तो लाग्थ्यो । गणितमा स्नातक पनि पढ्दैछु जस्तो लाग्थ्यो ।

तेस्रो वर्षमा मिहिनेत नपुगेर तीन विषयमा लड्डु खाएको थिएँ तर गणितमा त फेलै विद्यार्थी पनि बिक्थ्यो । म पनि बिकिरहेको थिएँ । आशा स्नातकोत्तरसम्म सकेर मोल बढाउन सकौंला र गुजारा चल्ला भन्ने थियो ।

कमरेड त्रिविले नतिजा नै ११ महिनामा निकाल्न थाल्यो । परीक्षा दिएको ११ महिनासम्म फेल भइन्छ कि पास थाहा हुन्थेन । परीक्षा दिएको विषयको लागि फेरि तयारी गर्ने कि नगर्ने भन्ने पनि यकिन हुने भएन । अनि नतिजा आए लगत्तै परीक्षा ।

सशस्त्र संघर्ष सकिएकै वर्ष प्रवीणता प्रमाणपत्र तह सकिएको मान्छे संविधानसभाको चुनाव सकेर संविधान बनाउने म्याद सकिइसक्दा पनि तीन वर्ष स्नातक सिध्याउन सकेको थिएनँ ।

जागिर त थियो । म कमरेडले भने जस्तै जागिर हुँदाहुँदै आएको मान्छे हो । जागिर नपाएर या साहुको ऋण लागेर आएको होइन । हो बाउको अपेक्षाको ऋण चाहिं प्रशस्तै थियो । त्यो त कमरेडलाई दोष दिने कुरा पनि त भएन ।

देशमा राजनीतिक अस्थिरता, संवैधानिक रिक्तता, भविष्यको अनिश्चितताका बीच कमरेडहरूले संविधान नबनाए पनि मैले राहदानी बनाएँ । त्यो चाहिं चाँडै बनेको थियो ।

लोकतन्त्रले नेपाली जनतालाई दिएको एकदमै महत्वपूर्ण उपहार भनेकै त्यो बेलाको एमआरपी थियो । त्यो बन्ने बित्तिकै अर्कै आशाको सञ्चार हुन्थ्यो । गच्छे अनुसारको देश जाने सपना देख्न सकिन्थ्यो ।

कतिको पूरा हुन्थे अनि कतिका रहन्थे अधुरा । मेरो पूरा भयो । अध्ययनका लागि प्रवेश आज्ञा मिल्यो । म प्रवासी भएँ । योग्यता अनुसारको काम पाए बस्छु नत्र फर्कन्छु भन्ने थियो । दुःखम्सुखम् योग्यता पनि बढाएँ अनि सोही अनुसारको काम पनि पाएँ । त्यसैले यतै अडिएको छु ।

बाले देश आउन भन्नुहुँदा ‘त्यहाँको राष्ट्रपतिले भन्दा बढी तलब खान्छु !’ भनेर धाक लगाउन पाएको छु । राष्ट्रपतिले जस्तो लोकाचारका लागि बिरामी हुँदा आफैं व्यहोर्ने इच्छा पनि प्रकट गर्नुपर्दैन, तलबबाट काटिने बीमा रकमले नै पुर्‍याउँछ भन्छु । गाडी चढ्न नेता या मन्त्री नै बन्नु परेको छैन साधारण तलबले नै चढेको छु ।

देशमा हुँदा कहीं कतै घुम्न नपाएको म विदेशको जागिरबाट आएको तलबले वर्ष या दुई वर्षमा नेपाल आउँछु । परार त इलामदेखि कञ्चनपुरकै सयर गरें । अनि पोहोर त विद्यालयभरि रटेको गौरव सगरमाथाको फेदीसम्मै पनि पुगें । देश हेर्न पनि विदेश धाउनुपर्ने भएको छ कमरेड, र पो मान्छे बाहिरिएका हुन् कि ?

‘सन्तान ठाउँमा पुगेर त देश–विदेश देख्न पायौं । आफ्नै जागिरका भरमा त त्यो सब कहाँ गर्न सकिन्थ्यो र ! ’ भनेर बाले सुनाउँदा मेरो हर्षको सीमा थिएन कमरेड ! सन्तानका लागि बाबुआमाको खुशी भन्दा ठूलो के कमाइ होला कमरेड रु हो त्यही कमाइका लागि यता अडिएको छु ।

देशमै बसेर बा–आमाको ‘कठै १’ बन्नु भन्दा प्रवासमै रहेर टेकाउने काठ बनेको छु । कमरेडलाई सुर्ता लाग्ला बा–आमा भेट्न पो के गर्ला यसले भनेर, कमरेड हवाईजहाजले साढे १२ घण्टामै काठमाडौं ओराल्छ । बरु काठमाडौंमा जागिरे हुँदा घर जान १८ घण्टा लाग्थ्यो कमरेड १ १ घण्टामा पुर्‍याउने हवाइजहाज चढ्ने त त्यो बेला हैसियत नै पनि थिएन । बरु अब घर चाँडै पुग्छु । सब पैसै त रहेछ कमरेड !

कमरेडले बेरोजगारीले देश छोडेका होइनन्, जागिरे समेत देश छोडेर जाँदैछन् भन्नुभएको बेलैमा देश छोड्ने ‘रोजगार’हरूको कथा बोकेको डंकी हेरियो कमरेड । डंकी मार्ने हाम्रा नेपालीहरू पनि छन् । ल्याटिन अमेरिकाको जंगल हुँदै अमेरिकासम्म पुग्छन् ।

कमरेडले हो चि मिन्हको कथा पढेर सुरुङ्ग युद्ध गर्ने रहर गरेको देशमा सुरुङ्गहरू पसेरै भए पनि नेपालीहरू आउँदैछन् । पहुँच हुने त भुटानी शरणार्थी बनेर आउन लागेका पनि थिए ।

सेटिङ मिलाउनेलाई त कमरेडको सरकारले नै थुनेको हो क्यारे ! कमरेडलाई थाहा नै होला । कमरेड बोल्नु अनि राजु हिरानीले चलचित्र प्रदर्शनीमा पनि ल्याउनु, गज्जबको संयोग !

कमरेडले हेर्नुभयो भने सपना संघर्षको कथा र त्यसका मूल्यहरू मज्जाले देख्नुहुनेछ चलचित्रमा । त्यसमा पनि रोजगारहरू नै हुन् कमरेड देश छोडेर जाने १ उनीहरू किन गए त चलचित्र हेरेरै बुझ्नुस् । मैले त्यही कथामा आफ्नो पनि जोडेको मात्रै हो कमरेड १ कमरेडलाई चलचित्र हो यसमा त मेरो प्रश्नको उत्तर कहाँ छ र भनेर नलागोस् भनेर मैले मेरै कथा पनि यसमा जोडेको हो कमरेड !

कमरेड, म जाबो त निजी विद्यालयको शिक्षक थिएँ । देशमै बसेको भए पनि त्यही काम गरेर बुढिन्थें होला । तर म नेपाल गएका बेला मैले नै विद्यालयमा पढाएर डाक्टर बनिसकेका विद्यार्थीहरू पनि देश छोड्ने कुरा गर्दैथिए ।

‘५०–६० हजार तलब खाएर कसरी हुन्छ रु सन्तानलाई राम्रो स्कुलमा हाल्नै पर्ला । खान–लाउन अनि बस्नै पर्ला । त्यो जाबो तलबले कसरी गुजारा चल्छ रु’ भन्दै गुनासो गर्दैथिए । यो पढे–लेखेकाहरूको कुरा हो कमरेड १ कति त पढ्न नसकेकाहरू पनि होलान् रु अनि कमरेडको बुर्जुवा शिक्षाको विरोध पत्याएर पढाइ छोडेका कमरेडहरू पनि होलान् ?

कति त रूसी सेनामा पनि गए भनेर समाचारमा पढेको थिएँ । उनीहरूलाई लेनिनको सेवा गरेर अझै पुगेको छैन १ सबै कमरेडहरूको खप्परमा महानगरको मेयर हुने या प्रमको स्वकीय सचिव हुने सौभाग्य कहाँ हुन्छ र रु लेखेर राख्नुस् कमरेड, राजनीतिक अवसरहरू पाएनन् भने तपाईंकै परिवारका नाति–नातिनी पुस्ता समेत देशमा अडिने छैनन् ।

पढेलेखेका र रोजगार भएकैहरू पनि किन विदेश जाँदैछन् भन्ने प्रश्नको उत्तर त कमरेडले आफ्नै जीवनीबाट पनि सिक्नुपर्ने हो । नारायणी विद्या मन्दिर, डण्डा मावि, अनि भीमोदय माविमा मास्टरी चलेकै थियो । रोजगारी त छँदैथियो । अझ युएसएडकै जागिर पनि पाइसकिएको थियो । अनि यो राजनीति गरेर टाउकाको मोल तोकाउँदै किन हिंड्नु परेको थियो कमरेड तपाईंलाई ?

कुनै न कुनै दिन त सफल भइएला भनेर हो नि कमरेड १ हो अहिले देश छोडेर जाने रोजगारहरूको पनि त्यही कारण हो । सुरुवातमा चर्पी नै घोटे पनि पछिका दिन राम्रा होलान् भनेर हो । कमसेकम सन्तानलाई आफूले गर्नुपरेको दुःख गर्नु नपर्ला भनेर हो ।

आशा र सपना भनेको साह्रै खतरनाक हुन्छ कमरेड । त्यसले देश छोडेर विरानो देशमा दुःख गर्न पनि आँट दिन्छ । पानामाका जंगल काट्न अनि डंकी बाटोबाटै भए पनि विदेश पस्न हौसला दिन्छ ।

आशा बाँकी रहेन कमरेड देशमा १ न १० वर्षे सशस्त्र संघर्ष गर्नेहरू प्रति आशा बाँकी रह्यो न विदेशबाट नेपाली फर्काउँछु भन्नेहरूबाट नै आशा बाँकी रह्यो । सबैले विदेशी नागरिकता त्याग्ने वित्तिकै ३२ दिनलाई नै भए पनि गृहमन्त्री हुन्थे भने त आउँथे पनि होला । तर त्यस्तो काकताली सबैलाई त पर्दैन नि १ त्यसैले विदेशिन्छन् कमरेड नेपालीहरू !

अनि फर्कन चाहनेहरू पनि फर्कन्छु कि फर्कन्छु भन्दै विदेशमै ओइलाउँछन् । अलि अघि भ्रष्टाचारका फाइलहरू खुल्न थालेपछि अनि एकपछि अर्का ठूला नेताहरू समातिन थालेपछि केही होला कि भन्ने भएको थियो ।

पछि अनुसन्धानमा संलग्न प्रहरी नै सरुवा भएपछि अनि प्रतिपक्षी दलहरू पनि मौन रहेपछि आशा मर्‍यो । अहिले त धरौटीमा रिहा नै पनि भइसके के रे १ एक दल भ्रष्ट भए पो अर्कोमा आश गर्न सकिन्थ्यो १ सर्वदलीय भ्रष्टाचार हुने देशमा कोप्रति आशा राख्नु रु

अचेल देश बनाउनु भन्दा फरक देशको नागरिकता बनाउन सजिलो छ कमरेड । देशमा दुःख गरेर सिंहदरबार अघि आत्मदाह गर्नुपर्ने परिस्थितिमा पुग्नु भन्दा मान्छे बरु परिवारबाट टाढा रहेरै भए पनि दुःख गर्न चाहन्छ ।

सत्ता र शक्तिमा हुनुहुन्छ । डाडुपन्यूँ हातमा भएका बेला मास्टरी छोडेर जुन उद्देश्यका लागि वन पस्नुभएको थियो त्यो उद्देश्यका दिशामा दुईचार काम मात्रै पनि गर्नुभयो भने यो क्रम रोकिएला ।

ज्यानको माया मारेको मान्छे प्रम पद जोगाउनैका लागि हरेक अनुसन्धानलाई लास्टमा त्यै पार्दै जानुभयो भने मान्छे विदेश किन जान्छन् भनेर स्वाङ चाहिं नकस्नु होला । धन्यवाद !

अनलाइन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय