शिव प्रसाद जैशी
क्याम्पस प्रमुख
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सामान्यतया मानिसहरु समयसंगै बगिरहेका हुन्छन्। विरलै मानिसहरु आफ्नो बेला भन्दा अगाडि हुन्छन्। दुरदर्शी हुन्छन्। समकालिन
समाजका लागि असम्भव र समयका लागि चुनौति बनेका हुन्छन्। भावी पुस्ताकालागि बाटो र चुनौति दिएर जान्छन्। धेरै मानिसहरु
नेता, कर्माचारी वा अन्य जुनसुकै पेशामा भए पनि गर्जो टार्न र समयको पदचापमा हिड्छन्। समय गुज्रिन्छ। क्रमिक परिवर्तन
अवश्यमभावी हुन्छ। थोरै मानिसहरु समयभन्दा अगाडि हुन्छन्। परिकल्पना गर्छन्। समय गुजार्दैनन्। समाजको गति भन्दा अगाडि
छलाङ् मार्छन्। समाजले नपत्याउने कुरा खोतल्न र गर्न तम्सिन्छन्। दुरदर्शी भएर काम गर्न तयार हुन्छन्। समकालिन समाजले
बुझ्दैन। भावी समाजले सम्मान गर्नैं पर्छ।
यस्तै परिकल्पनाकार हुनुहुन्थ्यो सायद हरिप्रसाद भण्डारी। हालको मंगलसेन नगरपालिका वडा नं ६ तेसिंगे गाउँको सिराडीमा वि सं
१९८४ मा जन्मिनु भएका हरिप्रसाद भण्डारी जीवनको तिन दशकतिर जिल्लामा स्थापित नेता बन्छन्। जिल्लाको नेतृत्वको हिसावले
उनको कार्यकाल अत्यन्त छोटो जम्मा दुई बर्षको मात्र हुन्छ। यो कार्यकाल नैं सम्भवतः पूर्वी अछामले नेतृत्व पाएको पहिलो कार्यकाल
हो। अँझ भन्ने हो भने अछाम भित्र घराना परिवार भन्दा वाहिर सामान्य परिवारको सदस्यले पाएको नेतृत्वको काल भन्दा अतियुक्ति
नहोला।
आज पुष्टि भएको छ कि हरिप्रसाद भण्डारी समयभन्दा धेरै कदम अगाडि हुनुहुथ्यो। उनको दृष्यसर्वेमा नापिएको छोटो दुरीको
चिसापानी जंगलघाट मंगलसेन सडक आज पनि बहु चर्चाको बिषय बनेको छ। कुनैं प्राविधिज्ञ, इन्जिनियर र साधन स्रोत विनानैं उनले
त्यो परिकल्पना अगाडि सारे। जनताको अपार सहयोगले श्रमदान अन्तरगत मोटरबाटो काट्न सुरु गरे। आजभन्दा करिव छ दशक
अगाडि जतिबेला सायदै समाजको परिकल्पनामा थियो होला यस्तो ठाउँमा पनि मोटर गुड्छ। उनले गुडाए। उनी दुई बर्ष भन्दा बढी
नेतृत्वमा रहेनन्। उनको त्यो बेलाको सुरुआत आजका गणतान्त्रिक त्यस क्षेत्रका अब्बल भन्न रुचाउने नेताहरुका लागि पनि चुनौती
बनेको छ। पहाडको रुपमा खडा भएको छ। अजिंगर जस्तै बिशाल।
अछाम जस्तो बाहुबलमा नेतृत्व हत्याउने ऊ बेलाको समयमा छोटो समय भएपनि भण्डारी कसरी नेतृत्वमा
आए यो पनि सोचनीय बिषय हो आजका पुस्ताका लागि। समकालिन नेतृत्वहरुको व्यक्तित्वसंग तुलना गर्दा उनमा छुट्टै खालको खुबी
थियो वा सदासयताले बने यो पनि खोजविनकै बिषय होला। जे होस् उनले समकालिन समाजमा एउटा गोरेटो कोरे। मार्ग प्रसस्त गरे।
समकालिन अवस्थामा गर्विलो लक्ष्य दिए नेतृत्वमा उक्लिन चाहनेका लागि क्रिकेटको खेलमा जस्तै। उनि फेरि कहिल्यै दोहोरिन भने
पाएनन्। उनको “छुटाई दिन्छु भारी” भन्ने बोलको गीतले उनको जीवनकालमा सार्थकता पाएन। उनले सुरु गरेको छ दशक र उनको
देहान्त भएको करिव तिन दशक बिति सक्दा पनि समकालिन नेताहरुका लागि वहाँको लक्ष्य र मृतआत्मा चुनौतिको रुपमा उभिएको
छ।
गाउँगाउँबाट मोटरचल्ने बाटो काट्न जानेहरुको भिड लाग्यो। तोकिएको समय र श्रमका लागि मानिसहरु ततप्पर भए। बोके बाउसो,
हँसिया, सावेल, घैंटी, घन र बेल्चा। सामेल भए हरि भडारीको अभियानमा। २०२४ साल चैत्र महिनामा पुग्यो मोटर अछाममा।
सहयोगीहरु पुगे मोटर हेर्न। नाम रह्यो मोटरकाटेको बाटो। सबै गाउँबाट समदुरीमा विना पूर्वाग्रह बनेको यो बाटोमा कुनैं नेता वा ठुला
बडाको हस्तक्षेपको गन्ध पनि मिसिन पाएन। मिसिएको छैन। गैटाँड देखि मंगलसेन सम्मको भाग हालको मध्य पहाडी लोकमार्गको
हिस्सा पनि बन्यो।
के हो? यो मार्गको बिशेषता। त्यतातिर चर्चा गर्नु आवश्यक हुन्छ। के यो मार्ग हरि भडारीले सुरुआत गरेर महत्व पूर्ण मानिएको हो।
हुदै होइन। बरु महत्वपूर्ण मार्गको सुरुआत गरेका हुन् उनले। त्यसमा उनको दुरदर्शीता देखिन्छ।यो मार्गले कर्नाली करिडोरलाई सजीव
बनाउछ। के हो कर्नाली? समान्य ज्ञानमा भनिए जस्तो नेपालको लामो नदी मात्र हो? हुँदै होइन। नेपालको लामो नदी त हुँदै हो तर
त्यतिमात्र होइन। यो संसारका उत्कृष्ट पाँच वटा नदीमा आफ्नो नाम समेट्न सफल नदी हो। यो एशियाको एक नम्बर उत्कृष्ट नदी हो।
यसका तथ्यहरुले बताउछ। सभ्यताको हिसावले यो तिन भागमा विभाजित नदी हो। तिनवटा मानव सभ्यताको प्रतिनिधित्व गर्ने
अविरल नदी हो कर्नाली। कैलाश पर्वत देखी गंगा सम्मको यसको वहावले यसका विभिन्न नाम, जातीय समुहको बसोबास, वन्यजन्तु र
वनस्पतिहरुको प्राकृतिक र जैविक विविधता सहितको बिशिष्टिकरणको खुला संग्रालय हो कर्नाली। यस्तो खुला संग्रालयमा

छोटोदुरीमा सयर गर्न पाउनु मानिसको लागि अहोभाग्य हुनेछ। मानिसहरु तृप्त हुने छन् र पर्यटकीय गतिविधिले करिडोरमा मात्र नभै
सिंगो कर्नाली सभ्यताको उत्खनन् र प्रचारप्रसार, संरक्षरण र प्रबर्धनमा ठुलो सयोग पुग्ने छ।
बिशिष्ठ खालको कर्नाली नदीको अवस्थितिलाई ध्यान दिने हो भने यस क्षेत्रका बासिन्दाहरुले कर्नालीलाई संरक्षित नदीमा सूचिकृत
गर्नका लागि पहल गर्न ढिलो गर्नु हुदैन। कर्नालीको दर्जामा भएका संसारका धेरैजसो नदीहरुलाई संरक्षित नदीमा राखेर विश्व समपदा
सूची (world heritage site) मा सूचिकृत गरिएको पाइन्छ। संरक्षित नदी करिडोरको छोटो दुरीको सडक संजालले यस क्षेत्रको
आर्थिक विकासमा ठुलो सहयोग पुग्नेमा शंका छैन। कर्नालीका बारेमा यो लेखाई अँधुरो हुने भएकोले पुनः छुट्टै कलम चलाउन आवश्यक
छ। अहिलेलाई हरि भडारीले सुरु गरेको मार्गतिरै लागौं।
आर्थिक दृष्टीकोणबाट बिश्लषण गर्दा यो बाटोको निर्माण सम्पन्न भएपछि भाडादरमा दोब्बर कमी आउने छ। भाडादरको प्रत्यक्ष असर
मानिसहरुको आवत जावतमा पर्नेछ। आवतजावतको बृद्धीले यातायातका साधनहरुमा बढोत्तरी आउनु स्वभाविक हुनेछ। स्थानीय
उत्पादनहरु निर्यात गर्दा लाग्ने भाडादरको कमीले गर्दा मुल्य नियन्त्रित भई उत्पादनमा बृद्धिहुनेछ र निर्यात र आयातमा सकारात्मक
असर पर्ने हुँदा सम्पूर्ण आर्थिक क्रियाकलाप चलायमान हुनेछन्।
यो मार्गको निर्माणमा हुन गएको ढिलाईका कारणले तिब्र गतिमा भएको बसाइसरालाई भावनात्मक सम्बन्धमा परिणत गर्न सकिने
छ। मानिसहरुलाई पुर्ख्यौली थलोको हालको बाँझो जमिनको उत्पादनमा आकर्षित गर्न पुनरविचारका लागि सघाउने छ। वा हालको
उत्पादनबाट प्रतिफलको तुलनामा लागत बढी भएको समस्याको समाधान गरी मानिसहरुलाई स्थानीय कृषी, फलफूल, गाईभैंसी र
बाख्रापालनमा सहयोगी भूमिका खेल्न सक्छ।
हरिप्रसाद भण्डारीको जमानमा कर्नाली नदीको किनार बस्तुभाउहरुको खुल्ला गोठ थियो। खुला बासस्थान थियो। बस्तुभाउबाट हुने
आम्दानी केवल घ्यूमा सिमित थियो र त्यो पनि पिठ्यूँमा बोकेर बजार सम्म पुर्‍याउनु पर्ने कठिनाई थियो। सायद हरिप्रसाद
भण्डारीको घ्यू, नुन, लत्ताकपडा र स्थानीय उत्पादन महिनौं लगाएर बोक्नु पर्ने जन भोगाईको बाध्यात्मक परिणतिको उपज हुन सक्छ
यो बाटोको परिकल्पना, अनिवार्यता र कार्यान्वयन। तसर्थ खुला हृदयले भन्न सकिन्छ कि हरिप्रसाद भण्डारीले गरेको परिकल्पना
कैलाली, सुर्खेत, दैलेख र अछाम बासीकालागि संजीबनी बुटी नैं थियो भने बाजुरा र कर्नाली अंचलका अन्य जिल्लाहरुका लागि
त्यसको आधार। वि सं २०२४ चैत्रमा पहिलो पटक अछाम बासीले देख्न पाएको त्यो मोटर र मोटरकाटेको बाटोको औचित्य आज ५६
बर्ष पछि र वहाँको देहावसान भएको २८ बर्ष पछि पनि उत्तिकै छ। हरिप्रसाद भण्डारी आफु बाँचेको युगभन्दा अगाडि थिए। आफ्नो
समयका जाँगरिला नेता थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय