एजेन्सी । दुई दर्जन रुसी ड्रोनको आक्रमणले युक्रेनको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्याएपछि दसौँ हजार मानिस विद्युतविहीन भएका छन् ।स्थानीय समयअनुसार शुक्रबार रातिमा गरिएको आक्रमणले गत हिउँदमा रुसी सेनाले गरेको योजनाबद्ध बमबारीलाई प्रतिध्वनित गरेको र यसले युक्रेनमा दसौँ हजार मानिसहरूलाई बिजुली, तातो वा पानीविहीन बनाएको छ ।
मस्कोले युक्रेनमा २४ वटा इरानी डिजाइनका ड्रोन प्रक्षेपण गरेपछि निप्रोपेत्रोभ्स्क क्षेत्रमा विद्युतीय सुविधाहरू क्षतिग्रस्त भएको युक्रेनी राष्ट्रिय ऊर्जा प्रदायकले जनाएको छ । ‘आक्रमणका कारण ४० हजारभन्दा बढी ग्राहकहरूको लागि बिजुली कटौती भएको छ,’ यस क्षेत्रका प्रमुख सेर्गी लिसाकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । दुई खानीहरू बिजुलीविहीन भएका छन् ।
ऊर्जा सेवा प्रदायक युक्रेनेर्गोले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिग सहरमा रहेको आफ्नो एउटा सबस्टेसनमा आक्रमणका क्रममा क्षति पुगेको जनाएको छ । जमिनमुनि फसेका करिब १०० जना मजदुरलाई सकुशल बाहिर निकालिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् । लिसाकका अनुसार पोक्रोभ्स्के गाउँमा रूसी गोलाबारीमा ३७ वर्षीय एक व्यक्ति घाइते भएका छन् ।




