
पुरानो ढुंगेघर । काठको खाँबोमा रेडियो झुन्ड्याइएको छ । रेडियोमा समाचार बज्छ– ‘सरकारले केही समयभित्रै रेल सञ्चालन गर्ने गरी तयारी थालेको छ, चीनको केरुङ नाकाबाट काठमाडौंसम्म रेल सञ्चालनको लागि तयारी थालिएको हो ।’

उपल्लो डोल्पामा ‘रेलको बाटो’ गीतमा अभिनय गर्दै कलाकार ।
आम नेपालीलाई सुखद लाग्ने यो समाचार सकिएलगत्तै दृश्य फेरिन्छ । म्युजिक भिडियोमा विकट हिमाली गोरेटोमा घोडा डोर्याउँदै हिँडिरहेका स्थानीय बासिन्दा देखिन्छन्, जसले रेडियोमा बजेको सुखको समाचारलाई मिथ्या सावित गर्छ । गीतमा यसरी शब्दहरू बग्न थाल्छन्–
रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा
हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा
‘रेलको बाटो’ नामक म्युजिक भिडियोले वास्तवमै नेपाल सरकारले देखाएको रेलको सपना र कर्णालीको अवस्थाबारे सोचमग्न बनाएको छ । उपल्लो डोल्पामा छायांकन गरिएको म्युजिक भिडियोका प्रमुख कलाकार चिरञ्जीवी सापकोटा (जीबी चिरन) भन्छन्, ‘जनतालाई समृद्धिका सपना सुनाउन पाइन्छ तर दुःखका कथा यथावतै राखेर सुनाइने सपनाको के अर्थ हुन्छ र ?’
सरकारले रेलको सपना सुनाइरहँदा कर्णालीको पीडा कति गहिरो छ भन्ने कुरा उनले भिडियो छायांकनमै पनि अनुभूति गर्न पाए । सडक यातायातले नछोएको देशको एक मात्र जिल्ला हुम्लामै पुगेर उनी भिडियो छायांकन गर्न चाहन्थे । तर १० जनाको समूहलाई त्यहाँ पुर्याउने कसरी ? त्यसैले उनले हुम्लाजस्तै पीडा बोकेको अर्को जिल्ला डोल्पामा पुगेर भिडियो छायांकन गरे । ‘हामी हुम्लामै पुगेर गीत छायांकन गर्न चाहन्थ्यौं तर आर्थिक अभाव र त्यहाँसम्म पुग्ने सहज पहुँचमार्ग नहुँदा सम्भव भएन,’ उनले भने, ‘अब फिमेल भर्सनका लागि हुम्लामै पुगेर छायांकन गर्ने योजना बनाएका छौं ।’
करिब ७ मिनेट लामो म्युजिक भिडियोमा उपल्लो डोल्पाका दृश्यले शब्दलाई थप शक्तिशाली बनाएका छन् । लेखराज गिरीले कर्णालीको वास्तविक जीवनलाई शब्दमा सरल ढंगले उतारेका छन् ।
सिटामोलको अभावमा मर्नुपर्ने कोही
चोट लागे, भोक लागे बस्नुपर्ने रोई
त्यतिमात्र होइन, गीतमा कर्णाली र सहरको अवस्थालाई तुलना पनि गरिएको छ । सहरमा रेल आउने तयारी भइरहँदा हुम्लामा गाडी नपुगेजस्तै विकासका अन्य सूचकमा पनि कर्णाली पछि परेको शब्द–दृश्यमा उतारिएको छ ।
तुइन चढी स्कुल जान्छन्, नानीबाबु गाउँमा
कालो बाटो चिल्ला गाडी, होलान् तिम्रो ठाउँमा
दाउरा–घाँस खाली खुट्टा छैनन् चप्पल–जुत्ता
रातो कार्पेट ओछ्याउँछन् रे तिम्ले टेक्दा उता
गायक तथा मोडेल सापकोटाका साथै सरस्वती खत्री र लक्ष्मण देवकोटाको जीवन्त अभिनयले कर्णालीको पीडालाई वास्तविकतामा उतारेको छ । सुरज पण्डितले सुमधुर स्वर मार्फत कर्णालीका दुःखका सुस्केरा सुसेलेका छन् । म्युजिक भिडियो छायांकन गर्ने क्रममा एक जना कलाकार लाई लेक लागेर हेलिकप्टर बाट उद्धार गर्नुपर्यो ।
खर्च पनि अनुमान गरेभन्दा दोब्बर बढी भयो । तैपनि ‘रेलको बाटो’ टिमले यसको हरेस खाएको छैन । युट्युबमा म्युजिक भिडियो अपलोड भएको एक सातामै करिब साढे ७ लाखभन्दा बढी भ्युज पाएपछि दंग परेका सापकोटा भन्छन्, ‘सरकारले रेलको सपना सुनाउँदै गर्दा हुम्लामा मोटर पनि पुर्याओस् भन्ने हाम्रो सदिच्छा छ ।’