उमेश थापा । दक्षिण कोरियाको घाम बिहानैदेखि कारखानाको चिम्नीमा टल्किन थाल्छ। भित्रबाट उर्लिने मेसिनको आवाज र बाहिर चिसो हावाको घर्षणमा, हजारौँ नेपालीहरूको परिश्रमको कथा घुलमिल हुन्छ।

मेरो कथा पनि त्यही भीडभित्र कतै हराएको छ । तर मनभरिको एउटा भाव साझा छः घर फर्कने आशा कहिल्यै मर्दैन।

विदेश आउँदा मनमा धेरै सपना थिए। परिवारका लागि राम्रो घर, आमाबुबालाई आराम। तर त्यही सपना पूरा गर्न हजारौँ किलोमिटर टाढा बस्नुको पीडा कसैलाई खुलेर सुनाउन सकिँदैन। दिनभरको कठोर कामपछि राति कोठाको झ्यालबाट टल्किने बत्ती हेरिरहँदा मनमा एउटा आवाज भन्छ “कहिले हो घर जाने?”

कोरियाको जीवनले धेरै कुरा सिकायो अनुशासन, मेहनत, समयको मूल्य। तर सिकायो एउटा कठोर सत्य पनि परदेश कहिल्यै आफ्नो हुन्न।

हामी यहाँ पसिना बगाउँछौँ, ताकि भोलि आफ्नै देशमा गर्वसँग केही बनाउन सकियोस्। मेरा कोठामा राखिएको नेपालमै किनिएको सानो धुपदान अझै पनि समय समयमा बलेर कोठालाई भरिदिन्छ। त्यही सुवासले सम्झाउँछ म यहाँ अस्थायी मात्र छु; मेरो घर, मेरो माटो, मेरो पहाड, तराई अनि पहाडी बस्ती सबै म भुल्न खोजे पनि मभित्रै बाँचिरहेका छन्। र, यही कारणले यो यात्रा जति कठिन भए पनि, थकाइभन्दा ठूलो आशा छ ।

एकदिन टिकट हातमा लिएर, विमानको झ्यालबाट नेपालका पहाडहरू देखेर मन भकाभक रोएर पनि हाँसिने दिने छ।
त्यसैले त परदेशमा बसेका हजारौँ नेपालीहरू भन्छन्। “हामी विदेशमा काम गर्छौँ, तर हाम्रो मन कहिल्यै देश छोड्दैन।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय