
काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिम १८ महिनायताका आठ खेलमा जितविहीन थियो । आठै खेलमा गोलसमेत गर्न सकेको थिएन । ६ वर्षपछि दशरथ रंगशालामा फर्कंदा राष्ट्रिय टिमले थ्री नेसन्स कपको समूह चरणका दुवै खेलमा गोल गर्न त सकेको थिएन नै, पोस्टमा गतिलो आक्रमण पनि भएन ।
फरवार्डबिना नै खेलेजस्तो देखिएपछि टिमकै आलोचना भइरहेको थियो । अन्ततः डेढ वर्षे गोलविहीन यात्रामा पूर्णविराम लगाउँदै सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएर थ्री नेसन्स कपको उपाधि चुमेको छ ।
घरेलु मैदानमा नेपालले उपाधि चुमेको यो ३७ वर्षपछि पहिलो हो । सन् १९८४ मा दशरथ रंगशालामै प्रथम दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा नेपालले स्वर्ण उपाधि चुमेको थियो । त्यतिबेला पनि फाइनलमा नेपालले बंगलादेशलाई हराएको थियो, त्यसबेला स्कोर थियो ४–२ । यही रंगशालामा २२ वर्षअघि साफको आठौं संस्करण फाइनलमा भने नेपाललाई बंगलादेशले १–० ले निराश पारेको थियो ।यो राष्ट्रिय टिमको पाँचौं उपाधि हो । सन् १९८४ को पहिलो साफ गेम्स र ढाकामा भएको छैटौं संस्करण (१९९३) को स्वर्णपदकपछि पाँच वर्षअघि ढाकामै बंगबन्धु गोल्डकप र कुचिङ (मलेसिया) मा एएफसी सोलिडारिटी कपको ट्रफी चुमेको थियो । नेपालको हालसम्मको ठूलो उपलब्धि सोलिडारिटी कप हो । अरू चार उपाधि फुटबलको आधिकारिक निकाय (फिफा, एएफसी र साफ) को औपचारिक प्रतियोगिता होइन । थ्री नेसन्स कप ‘आमन्त्रण प्रतियोगिता’ मात्र हो ।
महबुब रहमानले ८३ औं मिनेटमा गोल गर्दै अन्तर छोट्याए । समूह चरणमा भने नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । कप्तान किरण चेम्जोङले भने, ‘सबैले राम्रो खेल्यौं, नयाँ खेलाडीले पनि राम्रो गरे । टिममा धेरै प्रतिभावान् खेलाडी देखेको छु । यस्तै प्रदर्शनलाई निरन्तरता दिन सकियो भने साफ च्याम्पियनसिप (उपाधि) धेरै टाढा छैन । हाम्रो लक्ष्य भनेको साफमात्र होइन, एसियन कप पनि हो ।’
दक्षिण एसियाली क्षेत्रकै सबभन्दा प्रतिष्ठित प्रतियोगिता हो– साफ च्याम्पियनसिप, जहाँ नेपाल फाइनल पनि पुगेको छैन । एसियाली फुटबलकै सबभन्दा ठूलो प्रतियोगिता ‘एसियन कप’ हो र यसमा नेपालले हालसम्म छनोट पार गरेको छैन । पछिल्लो संस्करणदेखि २४ टिमले खेल्ने भएकाले नेपालले आशा गर्न सक्ने प्रतियोगिता बनेको हो यो । विश्वकप/एसियन कप छनोटमा तीन खेल नेपालले जुन महिनामा खेल्दै छ ।