डा.प्रिति भट

हामीले सानैदेखिपढेको र सुनेको कुरा हो; स्वस्थ जीवन जिउने कलानै उत्तम स्वास्थ्य स्थितिको पूरक हो । ग्रामिण भेगको जीवनयापन, बारीमै फलेका अन्न एवं फलफुलको सेवन, गाँउघरबाटै प्राप्त हुने दुग्धजन्य परिकारहरु, स्थानीय रूपमा प्रयोग हुने जडिबुटी एवं उपचार पद्धतिहरु स्वस्थकर जीवनका आधारस्तम्भ नै हुन् । तर हामी अहिले जति विकसित हुँदै गइरहेका छौं, प्रविधि र विज्ञानको जति हामी उपयोग गरिरहेका छौं , हाम्रो स्वास्थ्यपनि त्यति नै बिग्रिदै गएको छ। जीविकोपार्जनलाई विज्ञानले  धेरै हदसम्म सजिलो बनाएपनि यसको प्रतिफलको रुपमा नसर्ने रोगहरुको संख्यामा बृद्धि भएको पाइएको छ। व्यस्त जीवनशैलिमा काम गरिरहेका अहिलेका हामी २१सौं शताब्दीका मानिसहरु स्वस्थ दिनचर्या, ऋतुचर्या एवं स्वस्थ आहारविहार सबैको उपहास गरीरहेका छौं र यहि कारणले विश्वभरी अहिले नसर्ने रोग महामारीका रुपमा फैलिरहेको छ । शारीरिक र मानसिक स्वस्थको ह्रास संगै यस्ता रोगले ठुलो आर्थिक भार पनि बिरामीहरुमा परेको कुरा सर्वविधित नै छ। Nepal Burden of Diseases 2017  को सर्वेक्षणबाट प्राप्त भएको तथ्याङ्क अनुसार नेपालमा पनि २/३ प्रतिशत मृत्यु नसर्ने रोगहरुका कारण भएको पाइएको छ।यसको प्रतक्ष्य कारणका रुपमा परिष्कृतजीवनशैली, नियमित शारीरिक व्यायामको कमि  र अनुचित आहार विहारको अधिकतम् सेवन नै हो भन्नेमा दुइमत छैन। यी सबै कुराको ज्ञान हुँदाहुँदैपनिप्रज्ञापराधका कारण यी रोगको संख्यामा दिनानुदिन वृद्धि भर्इरहेकोछ ।

“स्वस्थस्य स्वास्थ्य रक्षणम् “ अर्थात्  स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु मुख्य प्रयोजन रहेको आयुर्वेद शास्त्रमा पनि नसर्ने रोगहरु बृहत वर्णन गरिएको छ। विश्वव्यापी तवरमानै आयुर्वेदिक उपचार पद्धतिबाट उच्च रक्तचाप, मधुमेह, आमवात, पक्षाघात आदि व्याधिहरुको सफल उपचार भैरहेको छ । बिभिन्न अनुसन्धान मुलक खोज एवं परिक्षणले यो तथ्य प्रमाणित पनि भैसकेको छ। यसका साथसाथै प्रमेह जस्तो जटिल रोग जसमा आधुनिक चिकित्सा विज्ञानले पनि अझै सन्तोषजनक औषधी वा कुनै उपचार पद्धतिको विकास गर्न सकेको छैन ; त्यसमा पनि अहिले विभिन्न आयुर्वेद शास्त्रमा उल्लेखित चिकित्सा कर्महरु प्रभावकारी भएको पाईएको छ । सयौ वर्ष पुर्व लेखिएका विविध मौलिक रबिशिष्ट औषध , आहार, विहार , संशोधन र शमन चिकित्सा आदि उपचारका माध्यमबाट आयुर्वेद चिकित्सानसर्ने रोगले ग्रसित बिरामीहरुका लागि पहिलो रोजाई बन्न पुगेको छ । दुर्लभ औषध तथा चिकित्सा कर्महरूका साथसाथै प्रत्येक आतुर व्यक्तिको देश, काल, अग्नि, वय, बल, आहार शक्ति,व्यायामशक्ति,सत्व, प्रमाण आदिलाई ध्यानमा राखेर उपचारको प्रक्रिया छनौट गरिनु , नित्य सेवनिय आहारको चर्चा, रोग अनुसार निदान घटकको पत्ता लगाएर बर्जनिय कामहरु गर्न नदिनु , ऋतुचर्या –दिनचर्या अनुसार जीवनयापन गर्न प्रोत्साहित गर्नु र नियमित योगाभ्यास , प्राणायाम, इश्वर प्रणिधान, व्रत जस्ता सत्वावजयचिकित्सा अपनाउनलगाएर बिरामीको मानसिक एवं शारीरिक अवस्थामा सकारात्मक परिवर्तन गर्न पथप्रदर्शन गर्नुनै यो विज्ञानको विशिष्टता हो।यो चिकित्सा विज्ञानको मुलआधार पनि स्वस्थ जीवनशैली नै हो ।

(यहि कुरालाई ध्यानमा राखेर नेपाल सरकार अन्तर्गत आयुर्वेद विभागले स्वस्थ जिवनशैली नामक कार्यक्रम प्रत्येक प्रदेशमा लागु गरिसकेको छ ।)

स्वस्थ जीवनशैलीका उपायहरु:

  • सकेसम्म बिहान सूर्योदयभन्दा अगाडी उठ्ने र कम्तिमा आधा घण्टा शारीरिक व्यायाम आफ्नो क्षमता अनुसार गर्ने।
  • अनुलोमविलोम, भ्रामरी ,कँपालभाती, भस्त्रिका जस्ता सामान्य प्राणायामगर्ने।
  • प्रशोधित पिठो(मैदा), junk food, क्यान जुस, धेरै गुलियो वा चिनियुक्त कुरा र मादक पदार्थको सेवन नगर्ने।
  • धेरै पिरो, अमिलो, नुनिलो , तारेको, भुटेको खानेकुरा नखाने ।
  • दिनमा कम्तिमा ३-४ लिटर पानी वा झोलिलो पदार्थको सेवनगर्ने।
  • साग, फलफूल, दुग्धपदार्थ, गेडागुडीको सेवन आफ्नो आहारमा बढि सामिल गराउने।
  • बोसोयुक्त मासुको सेवन यथोचित मात्रामा गर्ने वा गर्दै नगर्ने ।
  • रात्रिभोज थोरै मात्रामा गर्ने र खाना खाएको २ घण्टा पछि मात्रै सुत्ने बानीको विकास गर्ने ।
  • दिवास्वप्न नगर्ने र ६-८ घण्टा सुत्ने ।
  • सकिन्छ भने नियमित ( बर्षको दुइपटक) स्वास्थ्य जाच गर्ने।
  • अनावश्यक औषधीको सेवन नगर्ने ।
  • Basal Metabolic Index(BMI) अनुसार आफ्नो तौल कायम राख्ने ।
  • सीपमूलक, ज्ञानमुलक एवं रचनात्मक कार्यहरुमा आफुलाई व्यस्त राख्ने ।
  • हितायु र सुखायुका लागि आफुले जानेका यथासम्भव युक्तिहरु आफ्नो जीविकामा ल्याउन प्रयास गर्ने ।

 

“Diseases of king” or “lifestyle disease”  भनेर चिनिने यस्ता जीवानाशैलीसंग प्रतक्ष्य सम्बन्ध राख्ने रोगहरुलाई माथि उल्लेख गरेका उपायहरुको पालना गरेर आफ्नो स्वास्थ्य प्रति सजक र कर्तव्यनिष्ठ भएर बाच्न सक्यौं भने निश्चयनै जीवन सुखी, दीर्घायु , आरोग्ययुक्त , तनाब रहित र उपलब्धिमुलक बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय