
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश नम्बर १ मा के गर्ने भन्नेबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन्।
देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशका मुख्यमन्त्रीहरू विरूद्धमा उभिने कि सघाउने भन्नेबारे छलफल भएको थियो।
बागमती प्रदेशमा नेकपाका प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
सभापति देउवाले राखेको उक्त छलफलमा सहभागी रहेका कांग्रेसका एक जना केन्द्रीय सदस्यले अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशहरूमा पार्टीले के गर्ने भन्ने छलफल भए पनि कुनै निर्णय भएको छैन।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केही केन्द्रीय सदस्य उपस्थित थिए।
मुख्यगरी बागमती प्रदेशभित्र रहेका केन्द्रीय सदस्यहरूलाई देउवाले बैठकमा बोलाएका थिए।
कांग्रेसको प्रदेशमा पार्टी संरचना छैन। प्रदेशमा के गर्ने भन्नेबारे केन्द्रीय समितिबाटै निर्णय गर्नु पर्ने हुन्छ। कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्दैछ।
आज बागमती प्रदेश सभाको बैठक बस्न लागेको छ। यो बैठकमा मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव टेबुल हुनेछ।
बागमती र प्रदेश नम्बर १ मा नेकपाका जुन समूहलाई कांग्रेसले सहयोग गर्छ त्यसलाई बहुमत पुर्याउन सहज हुन्छ। दुबै प्रदेशमा कांग्रेस निर्णायक छ।