
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको कार्यालयमा आज बाँडफाँड भएको छ ।
क्यापिटलका अनुसार निफ्राको आईपीओ १४ लाख ७५ हजार ८ जनाले प्राप्त गरेका छन् । १० देखि ५० कित्ता शेयर माग गर्नेलाई माग अनुसार नै शेयर वितरण गरिने भएको छ ।
यस्तै ६० कित्तादेखि २ लाख कित्तासम्म माग गर्नेलाई ५० कित्ता अनिवार्य र थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो।
यसअनुसार ४ लाख ९२ हजार ७२ जनाले गोलाप्रथाबाट थप १० कित्ता सहित ६० कित्ता शेयर पाउने भएका छन् । आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८ वटा आवेदन योग्य बनेको छ । आवेदन दिएकामध्ये ६ हजार २७६ वटा आवेदन रद्ध भएको छ ।
क्यापिटलका अनुसार ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १९ हजार ९३४ जनाले ४० कित्ता र ११ लाख ९४ हजार ४ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् । ६० कित्ता बढी शेयर आवेदन गर्ने ४ लाख ९२ हजार ७७ जनाले थप १० कित्ता शेयर पाएका छन् ।
बैंंकले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल ८ करोड कित्ता शेयर निष्काशनमा ल्याएकोमा ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।
आईपीओमा माघ २ देखि ६ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा मेरो शेयरको मोबाइल एप तथा वेवसाइट मार्फत भर्न सकिने व्यवस्था गरिएको थियो ।
बैंंकको आईपीओ हालसम्मकै ठूलो साधारण शेयर (आईपीओ) हो । जारी पूँजी २० अर्ब रहेको बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यो नै हालसम्मकै ठूलो सार्वजनिक निष्काशन हो । यसअघि एचआईडीसिएलले सर्वसाधारणमा २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर जारी गरेको थियो ।