टेक बहादुर थापा, कमलबजार कार्तिक १३ । कमलबजार नगरपालिका वडा नम्बर ७ जामागाउँमा लाग्ने केदारनाथ मेला आईतवार बाट सुरुभएको छ । जामामा हरेक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखि कात्तिक शुक्ल चतुर्दशीसम्म धेवल र मेला लाग्ने गर्दछ । ९ दिनसम्म धेवल अर्थात् देवताको पुजा आराधाना र धामीले खला नाच्ने प्रचलन रहि आएको छ । १० दिनसम्म देवताको पुजा सहित खला नाच्ने र रात्री मेला तथा केदारनाथ मन्दिरमा दूध, घ्यू चढाउने केदारनाथ मेलाको बिशेषता रहेको छ । अछाम जिल्लाको भैसोले क्षेत्रको अन्तिम तथा सबैभन्दा ठुलो मेलाका रुपमा जामाको जात्रालाई लिने गरिन्छ । मेलाको अवसरमा डेउडा, न्याउले खेल खेल्ने गरिन्छ । रात्री मेलामा धामीको नाच आकर्षकका रुपमा रहन्छ । केदार र छडाल देवताको नृत्यलाई मेलाको प्रमुख आकर्षणका रुपमा हेर्ने गरिएको स्थानीय महेन्द्र खतिवडाले रेडियो गाउँघर संग बताउनुभयो । धामीको नाच रात्री मेला र मन्दिरमा समेत रहने गर्दछ । केदार, छडाल र बेताल गरि ३ देवताका धामीले देवताको दैविक कला देखाउने गर्दछन् । रात्रि मेलामा छडाल देवताले करिब २० मिटर माथि घरको माथिल्लो तलाको कौसीबाट खसालिने पानी पिउने गर्दछन् भने केदार र बेताल देवताले बाघ र बिरालोको नृत्य समेत देखाउने गर्दछन् । परापूर्व कालदेखि डोटीको बडीकेदारबाट अछामको सेरा जामागाउँमा बसोबास गर्न आउनेले मेला ल्याएको र त्यहीबेला देखि नै मेला लाग्ने गरेको मन्दिरको पुजारी खडकराज उपाध्यायले बताउनु भयो । १० दिनसम्म लाग्ने यो पर्वलाई त्यस क्षेत्रका नागरिकहरु दोस्रो दशैँको रुपमा मनाउने प्रचलन रहेको छ । यो समयमा काम र रोजगारीको शिलशिलामा बाहिर गएकाहरु पनि गाउँ फर्किनेक्रम सुरुभएको छ । मेलामा कुनै पनि पशुुको बलि नचढाई धामीले दूध र घ्यू खाने गर्दछन् । अहिंसात्मक रुपमा यो पर्व मनाईने गरिन्छ भने देउवताका धामी दलित समुदाय र पुजारी गैरदलित समुदायका रहेकाले पनि यो पर्वको महत्व अझै बढेर गएको छ । यो बर्ष मेला नित्य पुजा र आराधाना सहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने वडा नम्बर ७ का वडा सदस्य बल बहादुर भण्डारीले बताउनु भयो । मेला कात्तिक २० गते आइतबार राती खला धामी नाच हुने र २१ गते मन्दिर जाने त्यो दिन भव्य मेला लाग्ने र अछाम सहित दैलेख र कालिकोट जिल्लाका समेत श्रद्धालुभक्तजनहरु केदारनाथ जामाको मेला भर्न आउने गरेका अर्का स्थानीय देवानन्द खतीवडाले बताउनुभयो । आजभोली कमलबजार नगरपालिका वडा न ७ को जामा गाउमा आवत जात गर्नेहरुको चहल पहल बढेको त्यहाबाट महेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । केदारनाथ मेलाका जानकार तथा स्थानीय अगुवा भिम खतिवडाले तल्लो भैसोले क्षेत्रको निकै ठुलो मेला भएकाले यो पर्वको महत्व बढ्दै गएको बताउनुभयो । दशैभन्दा पनि बढि महत्व दिएर मनाउने यो पर्वलाई मनाउन गाउँ बाहिर गएकाहरु यतिखेर धमाधम गाउ फर्किनेक्रम सुरुभएको उहाको भनाई छ । कुनैपनि पशुपंक्षिको बलि नदिएर मनाईने यो पर्वमा अछाम सहित छिमेकी जिल्लाका श्रद्धालु भक्तजनहरु समेत मेला भर्न आउने गरेको खतिवडाले बताउनुभयो । केदारनाथ देवताको दर्शन गरेमा सबै मनोकांक्षा पुराहुने विश्वाश समेत रहेको र अहिले सम्म सबैलाई राम्रो भएको खतिवडाको भनाई छ । केदारनाथको सम्झनामा पछिल्लो समयमा कैलालीमा समेत केदारनाथको मेला लाग्ने गरेको उहाको भनाई छ । खतिवडाले यस पर्वको अवसरमा सबैलाई शुभकामना समेत दिनुभएको छ ।
ADVERTISEMENT