श्रीमान् नगर प्रमुखज्यू

कमलबजार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय , कमलबजार अछाम ।

विषय: वडा नं. ८ र ९ को बीचमा निर्माण गरिएको डम्पिङ साइट तत्काल हटाई उपयुक्त स्थानमा स्थानान्तरण गरिदिन सम्बन्धमा।

महोदय,

सविनय निवेदन छ कि कमलबजार नगरपालिकाले हाल वडा नं. ८ र वडा नं. ९ को घना बस्तीको बीचमा फोहोर डम्पिङ साइट निर्माण गरेको विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त डम्पिङ साइट एकातर्फ वडा नं. ८ को बस्ती र अर्कोतर्फ वडा नं. ९ को बस्तीको बीचमा रहेको छ भने नजिकै धार्मिक आस्थाको केन्द्र डाडामाडु मन्दिर समेत रहेको छ। साथै, उक्त क्षेत्रको तलतिर जुरोखोला बग्ने गरेको छ र वरिपरि अन्य साना खोलानाला समेत रहेका छन्।

यस्तो संवेदनशील, घना बस्ती तथा धार्मिक क्षेत्रको नजिक डम्पिङ साइट निर्माण गरिनु वातावरणीय, सामाजिक, धार्मिक तथा जनस्वास्थ्यका दृष्टिले अत्यन्त अनुपयुक्त र घोर आपत्तिजनक कार्य भएको मेरो ठहर छ। फोहोरबाट निस्कने दुर्गन्ध, प्रदूषण, झिंगा–लामखुट्टेको वृद्धि तथा विभिन्न रोगको जोखिमका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने सम्भावना रहेको छ। वर्षायाममा फोहोरबाट निस्कने प्रदूषित पदार्थ जुरोखोला तथा अन्य खोलानालामा मिसिएर पानीका स्रोतहरू दूषित हुन सक्ने खतरा पनि उत्तिकै रहेको छ।

त्यसैगरी, धार्मिक आस्थाको केन्द्रको नजिक फोहोर थुपारिनुले धार्मिक तथा सांस्कृतिक मर्यादामा समेत नकारात्मक असर पुर्‍याउने देखिन्छ। यसले स्थानीय बासिन्दाको भावना र धार्मिक विश्वासमाथि समेत चोट पुर्‍याएको छ।

फोहोर डम्पिङ साइट निर्माण गर्दा मानव बस्ती, मन्दिर, विद्यालय, खानेपानीका स्रोत, नदी तथा खोलानालाबाट पर्याप्त दूरीमा रहेको स्थान छनोट गरिनु पर्ने सामान्य मान्यता र प्राविधिक मापदण्ड हो। तर हालको स्थानले ती आधारभूत मापदण्डहरू पूरा नगरेको स्पष्ट देखिन्छ। कमलबजार नगरपालिकाभित्र बस्ती, धार्मिक स्थल तथा पानीका स्रोतलाई कम असर पुग्ने अन्य उपयुक्त स्थानहरू हुँदाहुँदै पनि उक्त स्थान छनोट गरिनु दुःखद विषय हो।

तसर्थ, हाल निर्माण गरिएको डम्पिङ साइट सम्बन्धमा तत्काल स्थलगत अध्ययन, प्राविधिक मूल्याङ्कन तथा सार्वजनिक सुनुवाइ गरी उक्त स्थानलाई डम्पिङ साइटका रूपमा प्रयोग नगर्न, आवश्यक परे उक्त संरचना हटाउन तथा बस्ती, धार्मिक स्थल र जलस्रोतबाट टाढा रहेको उपयुक्त स्थानमा डम्पिङ साइट व्यवस्थापन गर्न आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

साथै, स्थानीय बासिन्दाको स्वास्थ्य, वातावरण संरक्षण, धार्मिक आस्था तथा भावी पुस्ताको हितलाई मध्यनजर गर्दै यस विषयमा शीघ्र निर्णय गरिदिनुहुन विनम्र अनुरोध गर्दछु।

धन्यवाद।

निवेदक

नाम: बिरेन्द्र भण्डारी

ठेगाना: कमलबजार नगरपालिका वडा नं. ८, अछाम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय