डि.बि. नेपाली

नेपाली समाज सामाजिक–सांस्कृतिक तथा अर्थ–राजनीतिक प्रणालीले निर्माण गरेको रुढिवादी परम्पराबाट निर्देशित पुरातनवादी समाज हो । विशेषगरी आमसञ्चारका विभिन्न समाचार शीर्षकलाई मसिनो गरी नियाल्ने हो भने सकारात्मकभन्दा नकारात्मक शीर्षक बढी आउने गरेको देखिन्छ । यसमा पनि सबैभन्दा बढी लैंगिक र जातीय विभेदका समाचार बढी आएको पाइन्छ । जबसम्म पुरातनवादी सोचको सामाजिक संरचना, आदिम कबिला प्रकारका मूल्यमान्यता सचेत ढंगले भत्काइँदैन, आधुनिक विज्ञानले विकास गरेको ज्ञान–विज्ञान, सीप–प्रविधि र विज्ञानमा आधारित समाज र सामाजिक प्रणाली बन्दैन । तबसम्म देश र जनता समृद्ध बन्न सक्दैनन् ।

आर्थिक विकास हुनासाथ नाटकीय रूपमा समृद्धि आइहाल्छ भन्ने किसिमको प्रचारबाजी भइरहेको छ । यो सोच बिल्कुलै गलत छ । आदिमकालीन कुरीति, कुसंस्कार, रुढिवादी परम्परा, अन्धविश्वास, प्रथा–परम्पराजस्ता सामाजिक विकृतिलाई नतोडेसम्म माला जपेर समृद्धि कसरी आउँछ ? नेपाली आमसञ्चारमाध्यममा प्रकाशित विभिन्न समाचार शीर्षकलाई हेर्दा अहिले पनि हाम्रो समाज आदिम दासयुगीन अवस्थामै रहेको झल्को मिल्छ । केही समाचार शीर्षकलाई यहाँ उल्लेख र चर्चा गरौँ ।

‘बोक्साको आरोपमा वडाध्यक्षमाथि कुटपिट’ २३ मंसिर ०७६ । तुल्सीपुर अनलाइनडटकममा यो समाचार प्रकाशित भएको थियो । घटना चितवन जिल्ला इच्छाकामना गाँउपालिका–२का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि बोक्साको आरोपमा दुव्र्यवहार भएको हो । पीडकको नेतृत्व उत्तरकुमार गुरुङसहितको टोलीले गरेको थियो । वडाको सामुदायिक भवन सार्ने विषयमा उनीहरूबीच विवाद भएको थियो । पीडित कांग्रेस कार्यकर्ता र पीडक नेकपाका कार्यकर्ता हुन् ।

रोचक कुरा के छ भने दुवै पक्ष आफूलाई हिन्दू धर्मभन्दा बाहिरका हौँ भन्ने समुदायका हुन् । आजको २१औँ शताब्दीको विज्ञान प्रविधिको युगमा एउटा जनप्रतिनिधिमाथि जघन्य अपराध र हिंसा हुनु अक्षम्य अपराध हो । नेपाली राजनीतिक दलका वैचारिक कारखानामा कुन हदसम्मका चेतना भएका कार्यकर्ता उत्पादन हुँदा रहेछन् ? भन्ने विषय यो दृष्टान्तले छर्लंग पारेको छ । यसले हाम्रो सामाजिक–राजनीतिक अर्थप्रणाली र शैक्षिक गुणस्तरलाई समेत नराम्ररी गिज्याइरहेको छ । यो अपराध कुनै ग्रामीण दूरदराजमा नभएर देशको केन्द्रीय राजधानीसँगै जोडिएको जिल्लामै भएको थियो । यहाँ केवल राजनीतिका लागि राजनीति भइरहेको आभास हुन्छ । राजनीतिक नेतृत्वले समाज परिवर्तनमा खासै चासो नदेखाएका कारण अन्धविश्वास र कुरीति झनै मौलाइरहेको छ । बोक्सीसम्बन्धी नै १५ मंसिर ०७६मा अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित भएको थियो । यो समाचार बैतडीबाट ‘बोक्सीको आरोपमा महिलामाथि कुटपिट’ शीर्षकमा भगीरथ अवस्थीले लेखेका थिए ।

समाचारअनुसार बैतडी पुर्चैडी नगरपालिका–९, तल्लादेहीकी एकल महिला उत्तरा ढुंगेलमाथि उनकै देवर नाता पर्ने डम्बर ढुंगेल र देउरानी पवित्रा ढुंगेलले ‘तिमीलाई देखेपछि मेरो छोरा बिरामी हुन्छ’ भन्दै कुटपिट गरेका थिए । वास्तवमा बोक्सा–बोक्सीबारे कुनै वैज्ञानिक तथ्य प्रमाण अहिलेसम्म पाइएको छैन । धार्मिक रुढिवादले आमाको गर्भदेखि नै छोरालाई वंश धान्ने, बलियो, योग्य ठान्छ । तर, छोरीलाई अर्काको घर जाने, अबला, कमजोर र शक्तिहीनका रूपमा बुझिन्छ । अनि जन्मपछि पनि छोरा र छोरीलाई यही अभ्यास, शारीरिक र मानसिक रूपमा विकसित गर्दै लगिन्छ । अझ गर्भमा भ्रूण पहिचान गरी छोरी भए यो संसारमा पदार्पण हुनै नदिई पेटमै हत्या गरिन्छ ।

बोक्सा–बोक्सी उत्पादन गर्ने मनोविज्ञानको विकास र जरो यहीँनेर छ । जो कमजोर, दुर्बल, गरिब, विपन्न र असहाय छ । उसैलाई समाजले बोक्सा–बोक्सी देख्ने सामाजिक मनोविज्ञान विकसित हुँदै आएको छ । यसको अन्त्यका लागि सकारात्मक समाचार प्रभाव, जागरण र बृहत् सामाजिक मनोपरामर्शको खाँचो देखिन्छ । साथै, थप हिंसा र पीडकलाई मनोबल बढाउने समाचार शीर्षकको विकल्पमा पीडितको आत्मबल बढाउन र पीडकलाई निरुत्साहित गराउँदै लगिनु जरुरी छ ।

अब अर्को सांस्कृतिक समाचार शीर्षकबारे चर्चा गरौँ । नेपालको परम्परागत समाजशास्त्रीय–मानवशास्त्रीय, सत्ता–अर्थराजनीति र वर्गीय पक्षधरताको दृष्टिकोण तल उल्लेखित तीन समाचार शीर्षकबाटै छर्लंगै हुन्छ । पहिलो, ‘नौमती बाजा संरक्षणमा झापाका युवा सक्रिय’ २९ माघ ०७५ । झापाबाट लक्ष्मी काफ्लेले यो समाचार नयाँ पत्रिकामा लेखेका थिए । समाचारअनुसार युवाले व्यावसायिक रूपमा ‘एक्टिभ नाइन’ नामक संस्थाद्वारा नौमती बाजा संरक्षण अभियान थालेका हुन् भन्ने उल्लेख छ । उनीहरूले स्थानीय नरेन्द्र दर्नालसँग प्रशिक्षण लिएका थिए ।

विडम्बना नै भन्नुपर्छ, दमाईं जातिले बाजा बजाएको रिपोर्टिङ गर्दा ‘संकटमा नौमती बाजा’ शीर्षक चयन गरिन्छ भने अन्य समुदायले बजाउँदा ‘लोप हुँदै गएको नौमती बाजा संरक्षण गर्दै ब्राह्मण–क्षेत्री’ भन्ने शीर्षक चयन हुन्छ ।

दोस्रो, ‘संकटमा नौमती बाजा’ १९ पुस ०७५ । गुल्मीबाट टोपलाल अर्यालले यो समाचार नयाँ पत्रिकामा लेखेका थिए । समाचारअनुसार पहिलेको तुलनामा बाजा बजाउने कम हुँदै गएका, श्रमको मूल्य नपाएको, उचित संरक्षण र सम्मान नहुँदा युवामा आकर्षण घट्दै गएकोजस्ता विषय उल्लेख गरिएको छ । तेस्रो, ‘लोप हुँदै गएको नौमती बाजा संरक्षण गर्दै ब्राह्मण–क्षेत्री’ ११ मंसिर ०७६ । बाँकेबाट विश्वराज पछडंग्याले यो समाचार नयाँ पत्रिकामा लेखेका थिए । समाचारअनुसार दमार्इं जातिले बाजा बजाउन छाड्दै गएकाले दुई वर्षदेखि संरक्षणमा जुटेको समाचारमा उल्लेख छ । समूहका अध्यक्ष भीमबहादुर खत्रीका अनुसार उनीहरूलाई कतिपय ठाउँमा दमार्इं भनेर हेपेको, तिमी भनेर सम्बोधन गरेको उल्लेख गरिएको छ ।

यी तीनवटै पञ्चैबाजा–नौमती बाजाबारेका समाचार शीर्षक हेर्दा पुरातन शासकीय मनोवैज्ञानिक भाव झल्किएको पाइन्छ । किनकि, श्रम, सीप–कला र पसिनामा बाँच्ने र सांस्कृतिक सम्पदाका मूल दमार्इं जातिलाई उपेक्षा र अपमान गर्ने निकृष्ट सोचका कारण अपहेलित र तिरस्कृत भएका हुन् । पञ्चैबाजा–नौमतीबाजा बजाएकै कारण होइन । ज्ञान–विज्ञान, सीप–कलालाई घृणा र अपमान गर्ने शासकीय निम्न घटिया चिन्तन विचार हो । यसबारे समाचार खोजमूलक, यसका कारण, परिणाम र समाधानसहित आउनुपर्ने हो । तर, जातीय सत्ता–राजनीति र वर्गीय पक्षधरताकै पक्षमा समाचार शीर्षक चयन भएको हुनुपर्छ ।

विडम्बना नै भन्नुपर्छ, दमार्इं जातिले बजाएको रिपोर्टिङ गर्दा ‘संकटमा नौमती बाजा’ शीर्षक चयन गरिन्छ भने अन्य समुदायले बजाउँदा ‘लोप हुँदै गएको नौमती बाजा संरक्षण गर्दै ब्राह्मण–क्षेत्री’ भन्ने शीर्षक चयन हुन्छ । हो, यहीँनेर छ, समाचार शीर्षक चयनमा विरोधाभाष र जातीय पक्षधरता । हजारौँ वर्षदेखि यो बाजाको आविष्कार, विकास र संरक्षण गर्दै आउने दमार्इं जाति नै हो । तर, शासकले कुन हदसम्मको अपमान, हेलाहोचो र विभेद गरे, बाजा बजाएकै कारण भन्ने विषय समाचारदातालाई जानकारी हुनुपर्ने हो ।

राजामहाराजाले नगरा, पञ्चेबाजा र संस्कृति संरक्षणका लागि राखिदिएको हजारौँ रोपनी गुठी जमिन बेचेर खाइदिएपछि यो बाजा कसरी बाँचोस् ? अनि हिजो बाजा देख्दै तर्सने र छोइहालेमा चोखिने समुदाय कसरी आज संरक्षक बन्न सक्छ ? एच.ए. डेभिसले– ‘नेपालको ऐतिहासिक अध्ययनमा पनि सेडुलकास्ट (शिल्पी÷दलित) नैतिक र श्रमले भरिपूर्ण छन्, तर राज्य सत्ताको कुनै चासो नहनु नै दसा हो’ भनी उल्लेख गरेका छन् । अतः उहाँको सारांशले के दर्शाउँछ भने आत्मवृतान्त नै उत्पति र संस्कारको ढकन हो । त्यसैले यो त केवल आवरणमा संरक्षक, व्यवहारमा भने हस्तक्षेप र अर्थोपार्जन नै हो ।

दमाईंले बजाउँदा सधैँ संकटमा, लोपोन्मुख मात्रै भनिदिइरहने, तर अरूले बजायो भनेचाहिँ संरक्षण हुने कुराले गम्भीर सांस्कृतिक अतिक्रमण र हिंसातर्फ नै संकेत गर्छ । होइन भने सतही रिपोर्टिङले झनै पुराना बाजाबादक दमाईं जाति झनै किनाराकृत र विस्थापित हुने निश्चित छ । हेक्का रहोस्, अरूले बजाउनुहुँदैन भन्ने मनसाय कदापि होइन । तर, सामाजिक विभेदको खाडल सिर्जना गर्नेको नालीबेली र सामाजिक–सांस्कृतिक असरलाई पनि सँगसँगै चित्रण गर्नु जरुरी छ । सामाजिक परिवेश र सम्बन्धित समुदायको धरातलीय यथार्थलाई ध्यानमा राखी सन्तुलित समाचार शीर्षक चयनविना थप सांस्कृतिक हिंसा, हस्तक्षेप र अतिक्रमणलाई नै बल पुग्नेछ । यसतर्फ समाचारदाता र आमसञ्चारको ध्यान अझैसम्म पुग्न सकेको छैन ।

यस्तै अर्को समाचार दाइजोसम्बन्धी रहेको छ । ‘दाइजोमा फ्रिज नदिएको भन्दै १९ वर्षीया श्रीमतीको हत्या’ २६ मंसिर ०७६ । जनकपुरबाट यो समाचार नेपालखबरडटकममा शैलेन्द्र महतोले लेखेका थिए । समाचारअनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरका नवीनकिशोर साहकी श्रीमती ज्योति नायक (साह)को हत्या भन्ने उल्लेख छ । ज्योतिका बाबु सुरेन्द्र नायकले भनेका छन्, ‘१७ लाखबराबारको दाइजो दिएर एक वर्षअघि विवाह गरेको थिएँ । केही महिनापछि ज्वाइँले फ्रिजलगायत सामान माग्दै छोरीलाई शारीरिक तथा मानसिक यातना दिँदै अन्त्यमा छोरीको हत्या नै गरेछन् ।’

विवाहजस्तो प्रकृतिको सृष्टिचक्रलाई निरन्तरता दिने विषयलाई धनदौलत र मालवस्तुमा साट्ने संस्कार, आर्थिक व्यापारीकरणको रूपमा विकास गरिएको छ । यो धर्मान्धता, कुरीति, कुसंस्कार र अन्धविश्वासको जगमा टिकेको गम्भीर मानसिक समस्या हो । जो छोरीलाई पढाउनुहुँदैन भन्ने मतसँग गाँसिएको छ । छोरीलाई पढाउनुपर्छ भन्ने संस्कार र मानसिकताको विकास नहुँदासम्म अपराध वृद्धि भइरहनेछ ।

दाइजो नपुगेको बहानामा आफ्नै अर्धांगिनीकै हत्या गर्न सक्ने कुन हदसम्मको अमानवीय मानसिकता हो ? मुख्य कुरा सामाजिक जागरण र वैज्ञानिक, शैक्षिक ज्ञानले मात्रै यस्ता संस्कारको अन्त्य गर्न सकिन्छ । पीडकको आत्मबल बढ्नेखालको शीर्षकको विकल्पमा पीडितलाई राहत हुने ज्ञान–विज्ञानमा आधारित शीर्षक र जागरण ल्याउनु जरुरी छ । अर्थात् दाइजोसम्बन्धी हिंसा, हत्याका कारण, परिणाम र असरबारे गहन खोज गरी व्यापक प्रचार–प्रसार गर्न जरुरी छ । यसो गर्न सकिएमा पीडकको मनोबल घट्दै जान्छ । र, दाइजोसम्बन्धी यस्ता जघन्य सामाजिक अपराधमा समेत कमी आउन सक्छ ।

त्यसैगरी, मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा कुरूप सामाजिक प्रथाका रूपमा ‘छाउपडी’ रहेको छ । अर्थात्, महिनावरी बार्ने चलन । ‘छाउपडी प्रथाः विद्यालय जान घरबाटै रोक’ शीर्षकमा ३० मंसिर ०७६मा इकान्तिपुरडटकममा सुदूरपश्चिमबाट मोहन शाहीले समाचार लेखेका थिए । समाचारअनुसार केआई सिंह गाउँपालिका–५, स्थित भुवनेश्वरी माविमा कक्षा ८ देखि १० सम्म अध्ययनरत छात्रामध्ये २७ छात्रा महिनाको तीन दिन विद्यालय जाँदैनन् । ‘विद्यालयपरिसरभित्रै विभिन्न देवी–देवताको मन्दिर भएकाले अनिष्ट हुन्छ भन्दै घरबाट विद्यालय जान रोकेको’ समाचारमा उल्लेख छ । सबै समाचारदाता, शोधकर्ता, अध्येताले लुकेका, अन्तरकुन्तरका विषयवस्तुलाई बाहिर ल्याउनु राम्रो हो । तर, रोचक कुरा यसलाई कार्यान्वयन गर्ने निकायले के ग-यो भन्ने सवाल मुख्य हो ।

निरन्तर अभियान जारी राख्न सकियो भने छाउपडी समाप्ति त्यति गाह्रो छैन । मुख्य कुरा सकारात्मक समाचार प्रभावबाट महिलाको मनोबल उकास्नु नै हो । यसमा आमसञ्चार माध्यमले मनग्य भूमिका खेल्न सक्छन् ।

वास्तवमा यो परम्पराका नाममा रहेको एउटा कुप्रथा हो । ‘छाउपडी’ बार्नैपर्नेमा कुनै वैज्ञानिकता र सत्यता छैन । यसको अन्त्यका लागि विभिन्न प्रयास र अभियान चलाइएका पनि छन् । तर, अवस्थामा अझै सुधार आउन सकेको छैन । लामो समयदेखि सामाजिक मनोविज्ञानमा गढेर बसेको रुढिवाद कायमै छ । महिलामा महिनावारी हुनु सामान्य प्राकृतिक नियम हो । यो प्रक्रिया रोकिएमा मानव सृष्टि चक्र नै रोकिन्छ । जसरी शरीरबाट विकारको रूपमा दिसा–पिसाब, खकार, सिंगान र पसिना स्वाभाविक प्रक्रियाबाट बाहिर आउँछ । त्यसैगरी महिनावारीमा पनि अनावश्यक पदार्थ बाहिर आउने हो । तर, यति सरल कुरालाई अशुद्ध, अपवित्र, देउता रिसाउने, अनिष्ट हुनेजस्ता अनेक मिथक र कथा बुनेर महिलामाथि हिंसा भइरहेको छ ।

यो कुप्रथाको समूल अन्त्यका प्रभावकारी वैज्ञानिक शिक्षा र जागरण अभियानबाट मात्रै सम्भव छ । निरन्तर ज्ञान–विज्ञान र मनोवैज्ञानिक परामर्श दिने खालका विषय आमसञ्चारका माध्यममा प्रचार–प्रसार गरिनुपर्छ । अध्ययन र एकीकृत समाचारलाई मूल ध्येय मानी आधार लिँदा कसो होला ? समाजको ऐना र नारी परिवर्तनकी संवाहक, आमा, दिदी र बहिनी/परिवारको एकताको प्रतीक दुई रथका एक पांग्रा बुबा, भाइ छोराको सम्मिश्रणबाट समाजको, घरको र परिवारको सोच, विवेक र बुद्धिमा परिवर्तन गर्न सकिन्छ । यसरी सामाजिक मनोविज्ञानमा परिवर्तन ल्याउन सकिन्छ ।

यसको अन्त्यका लागि निरन्तर मनोपरामर्श र प्रशिक्षण आवश्यक छ । यो कुसंस्कारको मूल स्रोत के हो ? यसको सुरुवात कसरी भयो ? वैज्ञानिक तथ्य आधार के छ ? घर–परिवार, राजनीतिक दलका नेतृत्व, बुद्धिजीवी, धामी–झाँक्री र आमसञ्चारमाध्यमले कसरी सहयोग गर्न सक्छन् ? आदि विषयमा निरन्तर अभियान जारी राख्न सकियो भने छाउपडी समाप्ति त्यति गाह्रो छैन । मुख्य कुरा सकारात्मक समाचार प्रभावबाट महिलाको मनोबल उकास्नु नै मूल विषय हो ।

जताबाट, जसरी पनि महिलाको आत्मबललाई बलियो बनाउनुपर्छ । विभिन्न अदृष्य शक्तिको डर देखाएर छाउपडी लाद्नु महिलामाथिको शोषण र सामाजिक अपराध हो । विशेष डरको मनोवैज्ञानिक जालोभित्र कैद गरेर यो अन्धविश्वास र रुढिवाद टिकाइराखिएको छ । नेपाली समाजको सामाजिक मनोविज्ञान परपीडक छ । जो–जसले जसरी सक्छ, एक–अर्कालाई किचिरहने, थिचिरहने, मिचिरहने खालको छ । नम्र, विनयशील, प्रेमभावभन्दा पनि जबर्जस्ती शोषण र दमनकारी छ । प्रभावकारी वैज्ञानिक शिक्षा प्रणाली लागू र कडा कानुन बनाई कार्यान्वयनका साथै मानसिकतामा फेरबदल समाज परिवर्तनको मूल विषय हो ।

Source Naya Patrika

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय