✍️वी. एल विवश यात्री , कमलबजार अछाम ।

बाह्रै मास सिरिसिरि हावा चलिरहनु र मौसम अनुसार प्रकृतिले नि:शुल्क दिने फलफूल नै मुख्य विशेषता हो कमलबजारको। सेता हिमालको दृश्य अवलोकन मात्र होइन,हिउँ खेल्ने रहर पनि पूरा गर्छ कमलबजारले । हाम्रा देउडाहरुमा पनि कमलबजारको विशेषता झल्किन्छन । “कमलबजार हवाई गैटाण सिरसिरे बतास …….” “पाकन्ना तिर्खुला लागली जेठकी मैना…….” ” चौकेगडा काफल खानु , दयाका आम खानु……” हाम्रो जंगलमा नि:शुल्क पाइने लालिगुराँस, काफल, तिर्खुला, साग, सिस्नु र निम्णो ले हाम्रा पाहुनाहरु स्वागत गर्न सकिन्छ। स्थानीय परिकारहरु मात्र खुवाउने पर्यटक लक्षित होटेलहरुको विकास हुन जरुरी छ। हाम्रा पुर्वजले सुरु गरेका जामाको केदार मेला, स्याउँलेको देउसी-भैलो, कमलबजारको घाँसे संक्रान्ती,पितृ औँशी, मुलिको भुओ र चौकेगडाको काफल खाने मेला थप व्यवस्थित, सुदृढ बन्यो भने व्यवसायीक र साँस्कृतिक रुपमा कमलबजार अझै अव्वल बन्नेछ।चक्रेश्वरी,बाँइकोट, पाँचुल्ली, मनकामना जस्ता डाँडाहरुमा भ्यू टावरहरु बनाउन सकिन्छ। कालिकोट मान्मा बजार, चाँदीझैँ टल्किने हिमाल, हिम झर्नाहरु, कर्णाली नदि, सुर्योदय र सुर्यास्तमा देखिने दृश्यहरु, बादलका सेतै पहाड उठेर बन्ने आकारहरु थुप्रै प्राकृतिक दृश्यहरु साँच्चिकै मन मोहक लाग्छ कमलबजारबाट। प्रत्येक डाँडाहरुमा पुर्वजले बनाएका धार्मिक आस्थाका मन्दिरहरु छन्। यी मन्दिरहरुलाई बढी भन्दा बढी स्थानीय सामाग्रीको ( पत्थर, काठ…) प्रयोग गरेर हाम्रो परम्परा, हाम्रो सँस्कृती झल्काउने गरि कलात्मक बनाएर प्रबलिकरण गर्न आवश्यक छ। बयाला र फल्टाने (सेरा) लाई फलफूल भण्डारको रुपमा परिचित गराउन आवश्यक छ। घोडासैन र मुलिका सुन्तला, फल्टानेका आरु र केला, बयालाका खरबुजा र आमलाई व्यवसायीकरण गर्न सकिन्छ। पाँचुल्ली क्षेत्रको संरक्षणमा विशेष ध्यान दिन जरुरी छ। कमलबजार क्षेत्रमा भएका झरनाहरु, विशाल ढुंगाहरु, ऐतिहासिक क्षेत्रहरु ( कवालेख दरबार, बडि अछाम …) आदिको खोजी, संरक्षण र प्रचार-प्रसार गर्न आवश्यक छ। मन्दिरहरु परम्परागत र अस्पताल र स्कुलहरु डिजिटल बनाउने लक्ष्य हुन जरुरी छ। मष्टबण्डाली क्षेत्रको छुट्टै धार्मिक पहिचान छ। कमलबजार एअरपोर्ट तत्काल संचालनका निम्ति सबै राजनीतिक दलहरुले संयुक्त रुपमा राज्यलाई ध्यानाकर्षण गराउन जरुरी छ। दिगो शान्ती र दिगो विकासको लक्ष्य राखेर योग कक्षाहरु, स्व-अध्ययन केन्द्रहरू स्थापना गर्न जरुरी छ। साथै ऐतिहासिक पुरातात्त्विक बस्तुहरु संकलन र प्रदर्शन गर्नुपर्दछ। फलफूल, तरकारी, पशुजन्य उत्पादन र निर्यातलाई प्राथमिकता दिन सकिन्छ। स्थानीय उत्पादन, स्थानीय सिपको उचित मुल्यांकन, उत्पादन र बजार व्यवस्थापन गर्न आवश्यक छ। जातीय विभेद लगायत सवै खाले विभेदको अन्त्य गर्ने लक्ष्य सहितको कार्यक्रमहरुलाई जोड दिनपर्छ। जसको कारण सबै समुदाय, व्यक्तिहरू सम्मानजनक व्यवहार पाउन सकुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय